राष्ट्रियसभा सदस्य रिक्त पदका लागि लुम्बिनी प्रदेशबाट तीन पदका लागि आठ जनाको उम्मेदवारी दर्ता भएको छ । नेपाली काँग्रेस–एमाले गठबन्धनबाट तीन, नेपाली कम्युनिष्ट पार्टीबाट तीन र राष्ट्रिय जनमोर्चाबाट दुई जनाको उम्मेदवारी दर्ता भएको प्रमुख निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिस प्रकाशप्रसाद पण्डितले जानकारी दिनुभयो । काँग्रेस–एमाले गठबन्धनबाट एमालेकी रामकुमारी झाँक्री, नेपाली काँग्रेसका बासुदेव घिमिरे र चन्द्र केसीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

यस्तै नेपाली कम्युनिष्ट पार्टीका सर्जन बिक, बृहस्पति अधिकारी र दुर्गा भण्डारीले उम्मेदवारी दर्ता गराउनु भएको छ भने राष्ट्रिय जनमोर्चाका बोमबहादुर खत्री र पद्मा पण्डितले उम्मेदवारी दर्ता गराउनु भएको प्रमुख निर्वाचन अधिकृत पण्डितले जानकारी दिनुभयो । आठै जनालाई उम्मेदवारी दर्ताको निस्सा प्रमुख निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले दिनुभएको थियो । उम्मेदवारी दर्ता अघि दलहरुले पार्टी कार्यालयबाट र्याली सहित निर्वाचन कार्यालय पुगेका थिए ।
राष्ट्रियसभामा कुल १९ रिक्त पदमध्ये लुम्बिनी प्रदेशबाट अपाङ्ग, महिला र अन्य क्लष्टर गरी तीन सिटमा निर्वाचन हुँदैछ । माघ ११ गते ८७ प्रदेशसभा सदस्य र स्थानीयतहका २ सय १७ प्रमुख उपप्रमुखहरुले मतदान गर्नेछन् ।