केही दिन अघि ७५ वर्षीया आमाको उपचार गराउन जिल्ला अस्पताल पुगेकी उदयपुरका प्रदेश सांसद अम्बिका थापा उपचार नगराइ फर्किन् ! कारण थियो, एकातिर डाक्टर अभाव त अर्कोतर्फ भएका डाक्टर र सहयोगिको व्यवहार राम्रो थिएन ।
डाक्टरका सहयोगीले कहिले त्यो कोठामा जानुस त कहिले भरे आउनुस भन्दै डाक्टरसँग भेट्न नै दिएनन्, त्यसपछि उनी सिधै आकस्मिक कक्षमा आमालाई लिएर पुगिन त्यहाँ नाम थाहा नभएको एक जना डाक्टर भेटिन् ।
डाक्टरलाई भेटनसाथ समस्या बताइन्, लगत्तै डाक्टरले पेट छाम्दै महिनावारी ठिक समयमा भइरहेको छ नी भन्ने प्रश्ने गरे, बुढि आमामाथि डाक्टरले गरेको प्रश्न प्रति आजित हुँदै मुर्मरिदै उनी घर फर्किन् ।
‘जबकी ७५ वर्षको वृद्ध महिलालाई महिनावारी त ठिक छ हैन ? भन्ने डाक्टरले प्रश्न गर्छन भने त्यस्तो ठाउँमा उपचारको के आश गर्नु ?’–उनले भनिन्–‘शारीरिक बनावट हेरेरै थाहा पाउनु पर्ने । त्यतिको कुरा त जान्दैनन् भने के उपचार गर्छन् ?’
सांसद थापा एउटा प्रतिनिधि पात्र मात्रै हुन् । स्वयम् जिल्ला अस्पतालमा कार्यरत दुई जना कर्मचारीले केहिदिन अघि आफन्तलाई प्रसूति गराउन बाहिर लैजानु प¥यो ।
सांसद र त्यहीँ भित्रका कर्मचारीको हविगत त यस्तो छ भने अन्य सर्वसाधरणको अवस्था कस्तो होला ? ‘अस्पतालको भवन हेर्ने हो भने धेरै सुविधा पाइन्छ जस्तो लाग्छ भित्र पस्दा केही सुविधा छैन ।’–गैरसरकारी संस्था महासङ्घ नेपालकी केन्द्रिय सदस्य महेश्वरी राईले भनिन्–‘सेवासुविधा खोज्ने, तर जनतालाई सुविधा नदिने यो प्रवृतिको अन्त्यका लागि सरोकारवाला निकायले ध्यान नदिने हो भने, अस्पतालमा ताला लगाइदिए हुन्छ ।’
सामान्य औषधि उपचारका लागि स्वास्थ्यचौकीले दिने सेवासुविधा पनि अस्पतालले उपलब्ध नगराएको उनको गुनासो छ ।
अस्पताल दिनदिनै अव्यवस्थित र सेवाविहीन बनेकोप्रति चौतर्फी आलोचना सुरू भएको छ । दरबन्दी भएर पनि विशेषज्ञ सेवा उपलब्ध नगराएकोप्रति सर्वसाधरण आक्रोशित छन् ।
अस्पतालको सेवासुविधाप्रति अस्पतालको प्रशासन शाखा प्रमुख एवम् सूचना अधिकारी बिर्ख खत्री पनि सन्तुष्ट छैनन् । उनले भने–‘डाक्टर बस्दैनन् । विशेषज्ञ आउँदैनन् । पटक–पटक राजनीतिक दलका नेतादेखि लिएर माथिल्लो निकायसम्म कुरा पु¥याएका छौँ । सुनवाइ हुँदैन के गर्नु ?’ यसको प्रत्यक्ष मर्कामा जिल्लाबासी र छिमेकी जिल्ला भोजपुर र खोटाङका सर्वसाधरण छन् ।
सामान्य खर्चमा हुने उपचार सेवा प्रभावित बनेपछि सर्वसाधरण महङ्गो मुल्य खर्च गरेर अन्य क्लिनिक तथा जिल्ला बाहिर जानु परेको नेपाल पत्रकार महासङ्घका सचिव पर्शुराम थापा बताउँछन् ।
तीन दिनअघि बिरामी छोरी लिएर औषधि उपचारका लागि जिल्ला अस्पताल पुगेको स्मरण गर्दै उनले भने–‘यस्तै पारा हो भने अस्पताल उपचार सेवा होइन मान्छेको ज्यान मार्ने थलोको रूपमा विकास हुन्छ ।’
दरबन्दीको पदपूर्ति हुन नसक्दा समस्या भएको अस्पतालका प्रमुख मेसु डा. विष्णुबहादुर बस्नेतको भनाई छ । दरबन्दी अनुसारको चिकित्सकको व्यवस्था गर्न माथिल्लो निकायलाई जानकारी गराउँदासेमत सुनवाइ नभएको उनी बताउँछन् ।
चाहे अनुसार विशेषज्ञहरू नहुँदा बिरामीहरूले पाउनु पर्ने सेवा नै दिन नसकेको डा. बस्नेतले बताए । यसअघि दैनिक सरदर १ सय ५० बिरामी आउने गरेको अस्पतालमा डाक्टरको अभावकै कारण अहिले २० जना पनि आउने गरेका छैनन् ।
अस्पताल विकास समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले चाँडै समस्याको समाधान हुने बताए । उनले भने–‘विशेषज्ञका लागि मन्त्रालयमा प्रयास जारी छ । आश्वसन पाएका छौँ । छिट्टै काम होला ।’