१७ वर्षीया बालिकालाई बालविवाह गरेको भन्दै दैलेख जिल्ला अदालतले ०८२ मंसिर २८ गते डुंगेश्वर गाउँपालिका–४ अवलपराजुलका २१ वर्षीय विकास कार्कीलाई एक वर्ष कैद र १० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।
पीडित पक्षले बलात्कार भएको भनी उजुरी दिएकोमा घटनाक्रमले बालविवाह ठहर भएको भन्दै न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासबाट उक्त सजाय भएको अदालतका सूचना अधिकारी गणेशप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
अदालती तहकीकातबाट ती बालिका र आरोपितको प्रेम सम्बन्ध रहेकाे र परिवारको सहमति बिनै विवाह गरेको विषयलाई बालिकाका अभिभावकले बलात्कारको मुद्दामा उजुरी दिएको खुलेपछि बलात्कारको मुद्दा बालविवाहमा परिणत भएको बताइएको छ । बालिका अभिभावककै संरक्षणमा छिन् ।
आरोपितले बालिकालाई ०८१ फागुन २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २४ गते जिल्ल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएको थियो । आरोपितलाई प्रहरीले ०८१ फागुन २६ गते गिरफ्तार गरेको थियो । बालिकाकाे स्वास्थ्य परीक्षण साेहो दिन दैलेख अस्पतालमा गरिएको थियो ।
जिल्ला सरकारी वकील कार्यालय मार्फत दैलेख जिल्ला अदालतमा चैत १५ गते बलात्कार सम्बन्धी अभियोग दर्ता भएकोमा चैत १६ गते जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले आरोपितलाई पुर्पक्षका लागि दैलेख कारागार पठाउने आदेश दिएको थियो ।