INSEC Online

📅 २०८३ जेष्ठ २१

दलित बस्तीमा खानेपानी अभाव, योजना नदिएको आरोप

सिद्धिचरण नगरपालिका–९ ज्यामिरेको दलित बस्तीमा खानेपानीको अभाव भएको छ । गाउँ नजिकै भएको मुहान सुकेपछि सिङ्गो बस्तीमा खानेपानी अभाव भएको हो ।

१७ घरधुरी दलित रहेको साविक ज्यामिरे गाविसको सार्की गाउँमा अहिले खानेपानी बोक्न २ घण्टा हिँड्नु पर्ने स्थानीय बासिन्दा तेजबहादुर मग्रातीले बताए ।

‘गाउँमा भएको मुहान सुकेपछि समस्या भयो, अन्य खानेपानीको योजना वडामा माग गरे पनि दिएनन् ।’–उनले भने । उनले दलित बस्ती स्थानीय सरकारको उपेक्षामा परेको पनि गुनासो गरे ।

अहिलेसम्म दलित बस्तीमा कुनै योजना समेत नदिएको स्थानीयको आरोप छ । खानेपानी नभएपछि स्थानीयले खुल्ला ठाउँमा दिशासपिसाब गर्दै आएको वडा सदस्य फुलमाया बिकले बताइन् ।

खानेपानी नभए पनि यहाँको समस्या कसैले नसुनेको उनको गुनासो छ । खुल्ला ठाउँमा दिशा गर्दा रोग फैलिन सक्ने भएपनि पानी नहुँदा शौचालय प्रयोगमा आउन सकेको छैन ।

दलीत बस्तीमा योजना नदिइएको विषयमा वडा अध्यक्ष दानबहादुर बानियाले पानीको मुहान नभएकाले समस्या भएको बताए ।

सदरमुकामसँग जोडिएको गाउँ भए पनि पानी नभएको सुक्खाग्रस्त क्षेत्र भएकाले सानातिना योजना चलाउन सम्भव नरहेको उनले बताए ।

अन्य

भिडियो