चिसङ्खुगढी गाउँपालिका–५ को पाखेस्थित कुष्माण्ड आधारभूत विद्यालय ०७२ वैशाख २९ गतेको शक्तिशाली पराकम्पनबाट पूर्ण रूपमा क्षति भयो । विद्यालय भवन भत्किएपछि जस्ताको टहरा बनाएर कक्षा सञ्चालन गुर्न परेको छ । भरपर्दो र दीगो भवन बन्ने क्रममा रहेपनि पूरा हुने गरी रकम छैन ।
चिसोको समयमा कक्षा सञ्चालन गर्न समस्या भएपछि घाम लाग्दा बालबालिका बाहिर ल्याएर पठनपाठन गराउनु पर्ने अवस्था रहेको विद्यालयकी प्रधानाध्यापक ईन्दिरा भट्टराईले बताइन् ।
उनले भनिन्–‘जाडोको समस्या छ । तर, विकल्प छैन ।’ उक्त विद्यालय निर्माणका लागि ३० लाख रुपियाँ निकासा भएपनि काम पूरा भएको छैन ।
सोही गाउँपालिकाको–६ भदौरेस्थित महेश्वर माध्यमिक विद्यालयको भवन वैशाख १२ गतेको भूकम्पले क्षति भयो । कक्षा १ र २ सञ्चालन भएको भवन क्षति भएपछि तत्कालका लागि अस्थायी जस्ताको टहरामा कक्षा सञ्चालनको व्यवस्था भयो । तर, अझै उक्त विद्यालय भवन निर्माण पूरा भएको छैन ।
विद्यालय भवन निर्माण नहुँदा जस्ताका टहरामा माघको चिसोमा कठ्याङ्ग्रिदै बालबालिका पढ्न बाध्य छन् । एसियाली विकास बैङ्कको अनुदानमा निर्माणाधीन उक्त विद्यालय भवन निर्माणमा खटिएका प्राविधिक र निर्माण समितिबीच लेनदेनमा कुरा नमिल्दा भवन निर्माणको काम हुन नसकेको स्थानीयको आरोप छ ।
जिल्ला आयोजना कार्यन्वयन इकाई (शिक्षा) मार्फत निर्माण सुरू भएको भदौरेको विद्यालय भवन निर्माणको पहिला केही समस्या रहे पनि अहिले निर्माण अन्तिम चरणमा पुगेको विद्यालयका प्रधानाध्यापक सन्तोषकाजी कार्कीले बताए । उनका अनुसार भवन अभावमा अझै बालबालिका टहरामै राखेर पठनपाठन गरिएको छ ।
यी त केही उदाहारण मात्रै हुन् भूकम्पले भत्काएका बालबालिका पढ्ने धेरै विद्यालयको अवस्था उस्तै छ । ओखलढुङ्गाका भूकम्पबाट पूर्ण र आंशिक रूपमा भत्किएका विद्यालयहरूको पुनः निर्माण नहुँदा विद्यालयहरूमा कक्षा सञ्चालन गर्न कठिनाइ भएको छ ।
भत्किएका विद्यालयहरूमा अस्थायी टहरामा कक्षा सञ्चालन गर्न चिसोका कारण कठिनाइ भएको हो । स्थानीय कृष्ण मगरले भने–‘हिउँदमा हावाले धुलो उडाउने, चिसोमा जाडो हुने त सामान्य जस्तै भइसक्यो ।’
०७२ को भूकम्प र त्यसपछिका पराकम्पका कारण ओखलढुङ्गाका ८४ विद्यालय पूर्ण क्षति र १ सय ७६ विद्यालय आंशिक क्षति भएका थिए । विद्यालयका ८ सय १० कक्षा कोठाहरु पनि क्षति भए । अहिले जिल्ला शिक्षा कार्यालयबाट १ सय ४४ ओटा विद्यालयमा मात्र अस्थायी ट्रष्ट निर्माणको चरणमा छन् ।
विद्यालय भवन निर्माण सुस्त हुँदा पठनपाठन प्रभावित भएको चिसङ्खुगढी गाउँपालिका–६ का अध्यक्ष कृष्ण क्याप्छाकी मगरले बताए । उनका अनुसार सम्बन्धित निकायले चासो नदिँदा पनि समस्या भएको हो ।
एसियाली विकास बैङ्क र पुनः निर्माण प्राधिकरणले क्रमशः १९ र ४१ विद्यालय निर्माणको काम धमाधम गरे पनि आधारभूत तहका साना विद्यालय भवन भने अलपत्र अवस्थामा छन् ।
पुनः निर्माणको काम पहिले छुट्टै निकायले गरे पनि अहिले धेरै अधिकारसहित स्थानीय तहमा जिम्मेवारी आएकाले अनुगमन गरेर काम प्रभावकारी बनाइने चिसङ्खुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताए ।

