INSEC Online

📅 २०८३ जेष्ठ २१

सरकारी अनुदानको नुन दोब्बर मूल्यमा विक्री !

नेपाल सरकारले सर्वसाधारणलाई अनुदानमा वितरण गर्ने नुन बजारमा दोब्बर मूल्यमा विक्री हुने गरेको छ । सरोकारावाला निकायले बजार अनुगमन गर्ने क्रममा जुम्लाका साना ठुला बजारमा अनुदानको नुन दोब्बर मुल्यमा विक्री भइरहेको भेटिएको हो ।

जुम्लामा व्यापारीहरूले नेपाल साल्ट टेड्रिङ करर्पोरेसनबाट सरकारी अनुदानको नुन प्रति केजी नौ रुपियाँमा लिने र बजारमा सार्वसाधारणलाई २० रुपियाँमा विक्री गर्ने गरेका छन् ।

नेपाल साल्ट टेड्रिङ करर्पोरेसन शाखा कार्यालय जुम्लाका प्रमुख खगेन्द्र मल्लका अनुसार अनुदानको नुन बजारमा विक्री वितरण गर्ने गरेको पाइँदैन । यदि विक्री वितरण गरेको खण्डमा प्रचलित कानुन अनुसार कारवाही हुने उनले बताए ।

स्थानीयको सहजताका लागि जुम्लामा रहेका जुम्लाकोट डिपो र धाँपा डिपोमा नुन खाली गरेका छैनौँ उनले भने जुम्लाको शाखा कार्यालय सहित तीन स्थानबाट नुन वितरण गर्ने गरिएको छ । प्रति व्यक्तिलाई एक पटकमा ५० केजी दिने गरेका छौँ ।

सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठका अनुसार बजार अनुगमनका क्रममा व्यापारीहरूले अनुदानको नुन विक्री गर्ने गरी राखिएको र बेच्न मिल्दैन भनेपछि खानका लागि राखिएको भनेका छन् ।

उनले भने व्यापारीहरूलाई अनुदानको नुन विक्री गर्न मिल्दैन भनेर सचेत गराएका छौँ विक्री गरेको भेटिएमा कारवाही हुन्छ भनेका छौँ ।

यसैगरी हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार सर्केगाड गाउँपालिकामा एक केजी नुनको ७० रुपियाँ तिर्नु परेको स्थानीयबासीले गुनासो गरेका छन् ।

सर्केगाड डिपोले प्रतिकेजी १० रुपियाँमा विक्री वितरण गर्दै आएको भएता पनि यतिबेला उक्त डिपोमा नुनको अभाव भएको छ । सर्केगाड डिपोमा चार महिनादेखि डिपोमा नुन नआएपछि यहाँका स्थानीय नुन खानबाट वञ्चित भएका हुन् ।

यतिवेला सर्केगाड गाउँपालिकामा रहेका आठ वटै वडाका स्थानीयवासी एक प्याकेट नुनको ७० रुपियाँ तिरेर खानु परेको उक्त गाउँपालिका–४ निवासी कृष्ण शाहीले गुनासो गरे ।

साल्ट ट्रेडिङ् कार्यालयका प्रमुख राजबहादुर लामाका अनुसार सर्केगाड गाउँपालिकाका डिपोका लागि बाजुरा र गमगडीबाट नुन आउने गर्दछ । समयमा नुन उपलब्ध गराउन पहल भइरहेको उनले बताए ।

अन्य

भिडियो