INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १० वर्ष कैदसँगै १ लाख रुपियाँ क्षतिपूर्तिको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदयपुरले बेलका नगरपालिका–९ का २८ वर्षीय देवेन्द्र राईलाई माघ ८ गते १० वर्ष कैदसँगै १ लाख रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने गरी फैसला सुनाएको छ ।

न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले बलात्कार गरेको कसुर ठहर गरेको ९ दिनपछि सजाय तोकेको हो ।

गत पुस २९ गते अदालतले राईले बलात्कार गरेको कसुर ठहर गर्दै सजायका लागि पुनः इजलासमा पेस गर्ने गरी आदेश दिएको स्रेस्तेदार राजकुमार आचार्यले बताए । नयाँ मुलुकी संहिताले व्यवस्था गरे बमोजिम कसुर ठहरपछि पुनः इजलास बसी सजाय तोकिएको हो ।

पीडितलाई राईले गत साउन १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन १९ गते इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा साउन १९ गते गरिएको थियो । आरोपितलाई पीडितको मौखिक उजुरीका आधारमा साउन १८ गते गिरफ्तार गरी कारवाही अघि बढाएकोमा अदालतले भदौ १२ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

अन्य

भिडियो