सुरुङ्गा नपा–९ कडरबोनाका ३० वर्षीय दिपेन्द्र चौधरीलाई माघ ९ गते बिहान रुपनी गाउँपालिकास्थित राजविराज–रुपनी सडक खण्डमा प्रहरीले गोली प्रहार गरी हत्या गरेको छ ।
रुपनी चोकदेखि एक किलोमिटर दक्षिण सडकमा बिहान साढे चार बजे प्रहरीसँग भएको मुडभेडमा चौधरीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । मृतकको टाउकोमा गोली लागेको छ ।

चेकजाँचका रहेका प्रहरीमाथि गोली फायर भएपछि प्रहरीले जबाफी फायर गर्दा मोटरसाइकल पछाडि बसेका चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले बताए ।
डिएसपी रिमालका अनुसार प्रहरीलाई गोली फायरिङ गरेपछि प्रहरीतर्फबाट जबाफी फायरिङ हुँदा मोटरसाइकल पछाडि सवार चौधरी ढलेको र मोटरसाइकल चालक भने राजविराजतर्फ फरार भए । मृतकको साथबाट एक थान कटुवा पेस्तोल समेत बरामद भएको प्रहरीले जनाएको छ ।
गत माघ २ गते राति प्रहरी चौकी विसनपुरमा कार्यरत सुनसरीको कोशी गाउँपालिका–६ श्रीपुर निवासी ३६ वर्षीय प्रहरी हवल्दार महेन्द्र सतरामाथि सशस्त्र हतियारधारी समूह प्रगतिशील तराई मुक्ति मोर्चा समूहले गोली प्रहार गरेको जिम्मा लिएको थियो ।
गोली लागेर गम्भीर घाइते प्रहरी हवल्दार यादवको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा शल्यक्रिया भई गोली निकालिएको र हाल उपचाररत रहेको एसपी राजेन्द्र विष्टले बताए । सो घटनामा चौधरीको संलग्नता हुन सक्ने प्रहरीले आशङ्का गर्दै आएको थियो ।