INSEC Online

📅 २०८३ जेष्ठ २१

कांग्रेसद्वारा संसद् अवरुद्ध

नेपाली कांग्रेसले आफ्ना नेताहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका अस्पतालको विषयमा सरकारले कुनै निर्णय नगरेको भन्दै संसद् बैठक दुई पटकसम्म अवरुद्ध गरेपछि सूचना टाँस गरी पुनः बैठक स्थगित गरिएको छ ।

प्रतिनिधिसभाको बैठक सुरू हुनासाथ काङ्ग्रेस सांसद उठेपछि सभामुख कृष्णबहादुर महराले नेपाली काङ्ग्रेसका सांसद प्रकाशमान सिंहलाई बोल्न समय दिएका थिए ।

प्रमुख प्रतिपक्षी दलका सांसद सिंहले मन्त्रिपरिषद्मा प्रस्ताव भएका ११ ओटा अस्पतालमध्ये नेपाली कांग्रेसका नेताका नाममा रहेका दुई वटा अस्पतालको विषयमा निर्णय नगरेकामा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको बताए ।

सांसद सिंहले गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई सङ्घअन्तर्गत राख्नेगरी निर्णय भएको संसद्मा जानकारी नहुन्जेल कांग्रेसले संसद् चल्न नदिने बताए । त्यस लगत्तै कांग्रेस सांसदहरूले रोस्टम घेराउ गरेका थिए ।

सभामुख कृष्णबहादुर महराले आफूले सरकारको ध्यानाकर्षण गराइसकेको भन्दै बैठक सञ्चालनमा सघाउन पटकपटक आग्रह गर्दा पनि कांग्रेसका सांसदहरू उठेर बैठक चल्न नदिएपछि सभामुख महराले पहिलो बैठक १५ मिनेटका लागि बैठक स्थगित गरे ।

त्यसपछि प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुख महराले बैठकको कार्यसूचीमा रहेको शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई समय दिएका थिए ।

मन्त्री पोखरेललाई समय दिनासाथ कांग्रेसका सांसदहरू उठेर विरोध जनाइरहेपछि सभामुख महराले बैठक १५ मिनेटका लागि पुनः स्थगित गरे ।

प्रमुख विपक्षी कांग्रेसले सरकारमाथि दुई तिहाइको दम्भ देखाएको आरोप लगाउँदै आफ्ना नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका अस्पताल बन्द गर्न खोजेको भन्दै लगातार संसद् अवरूद्ध गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक माघ ११ गते दिउँसो १ बजे बस्नेछ । समाचार साभारः रासस

अन्य

भिडियो