INSEC Online

📅 २०८३ जेष्ठ २१

१३ वर्षदेखि विस्थापित बाढीपहिरो पीडीतहरूको पुनर्स्थापना भएन 

२०६२ साल असोज ८ गते अविरल वर्षापछि आएको बाढीपहिरोबाट विस्थापित ३५ परिवारको अझैसम्म पनि पुनर्स्थापना हुन सकेको छैन ।

परशुराम नगरपालिका–३ शिर्षमा १३ वर्षअघि आएको पहिरोमा परेर एकै परिवारका आठ जनासहित ३२ जनाले ज्यान गुमाएका थिए भने ३५ परिवार पहिरोका कारण विस्थापित जीवन बिताउँदै आएका छन् ।

पहिरो पीडितका लागि परशुराम नगरपालिका–४ रातीमाटीमा ३७ रोपनी र वडा नम्बर–५ परिगाउँमा नौ रोपनी गरी ४६ रोपनी जग्गा खरिद गरिएको भएपनि सरकारी निकायबाट योजना बनाएर हस्तान्तरण हुन नसकेपछि बाढीपहिरो पीडितहरूको पुनर्स्थापना हुन नसकेको हो ।

सरकारले बाढीपहिरो पीडितहरूका लागि भनेर खरिद गरेको जग्गामा पुनर्स्थापना गर्ने प्रयास नगरेपछि आफूहरूले सरकारलाई पटकपटक ज्ञापनपत्र बुझाउँदै आएको पहिरो पीडित शारदा टमटाले दुखेसो पोखे ।

परशुराम नगरपालिकाका पहिरो पीडितहरूले आफ्ना लागि खरिद गरिएको ४६ रोपनी जग्गा हस्तान्तरणको प्रक्रिया अगाडि बढाउन माग गर्दै विभिन्न निकायहरूलाई १ सय २८ पटक ज्ञापन पत्र बुझाउँदासमेत पुनर्स्थापनाका लागि सरकारले पहल नगरेको बाढी पीडित प्रजापती नाथले गुनासो गरे ।

डोटीमा रहेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले आवास तथा अन्य पुर्वाधार निर्माणका लागि जग्गा प्लटिङ गर्दै २ करोड ६५ लाखको इस्टमेट गरी भौतिक पुर्वाधार मन्त्रालयमा पेश गरेको थियो ।

सो रकम निकासाका लागि पहल गरिदिन र निर्माण कार्यको ठेक्का प्रक्रिया अगाडि बढाउन पटकपटक आग्रह गर्दा पनि सुनुवाइ हुन नसकेको पीडित निलकण्ठ पाण्डेले बताए ।

बाढीपहिरो पीडितहरूले बुझाएको ज्ञापनपत्रहरू सम्बन्धित मन्त्रालयमा पठाएको र सरकारले छिट्टै पीडितहरूको समस्या सामाधान गर्ने प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।

अन्य

भिडियो