INSEC Online

📅 २०८३ जेष्ठ २१

बागलुङमा एक मतदानस्थल थप, दुई स्थानान्तरण

आगामी फागुन २१ हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बागलुङ जिल्लामा एक मतदानस्थल थप गरिएको छ भने दुई मतदानस्थललाई स्थानान्तरण गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालय अनुसार मतदाताको बढ्दो सङ्ख्या, भौगोलिक चुनौती र पिछाडिएका बस्तीहरुमा पहुँच सहज बनाउन नयाँ मतदानस्थल थपिएको तथा मतदानस्थल सार्नका लागि निर्वाचन आयोगमा सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञ रिजालले बताउनु भयो ।

बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ रत्नलक्ष्मी माध्यमिक विद्यालय रिघाबाट आंशिक मतदाता सारेर मनेवा आधारभूत विद्यालयलाई मतदानस्थलका रुपमा थप गर्न सिफारिस गरिएको छ । रिघामा हाल २ हजार ८ सय मतदातामध्ये १ हजार १ सय ९० मतदातालाई मनेवा आधारभूत विद्यालयमा ल्याएर मतदानस्थलको रुपमा कायम गरिएको रिजालले बताउनु भयो ।

बागलुङ नगरपालिकाको एक मतदान स्थल र बडिगाड गाउँपालिकाको एक मतदानस्थललाई पूर्वाधारको अभाव तथा भौगोलिक चुनौतिका कारण स्थानान्तरण गरिएको छ । जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिका–८ सिगानाको मतदानस्थल र बडिगाड गाउँपालिका–१० को मतदानस्थललाई पायक पर्ने स्थानमा स्थानान्तरण गरिएको छ । बागलुङ नगरपालिका–८ सिगाना वडा कार्यालयको मतदान केन्द्रलाई सिगाना स्वास्थ्यचौकीमा सारिएको छ । वडा कार्यालयमा मतदानस्थल साँघुरो भएकाले सारिएको हो । यस्तै बडिगाड गाउँपालिका–१० साविकको वडा कार्यालयमा भएको मतदानस्थल रनाम स्थित नयाँ वडा कार्यालयमा सारिएको निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञ रिजालले बताउनु भयो ।

थपिएको मतदान स्थल स्वीकृत भएमा निर्वाचनमा १ सय ७ मतदान स्थल रहनेछ । गत निर्वाचनमा २ सय ३१ मतदान केन्द्र थिए ।

बागलुङ जिल्लामा यसभन्दा अगाडि १ लाख ८९ हजार १ सय ७३ जना मतदाता रहेकोमा अहिले ५ हजार ९ सय ९३ मतदाता थपिएका छन् ।

अमृतप्रसाद पौडेल

अन्य

भिडियो