INSEC Online

📅 २०८३ जेष्ठ २१

बालक अपहरण गरेको आरोपमा चार जना गिरफ्तार

गोदावरी नपा–६ स्थायी घर भई हाल धनगढी उमनपा–४ उत्तरबेहडी बस्ने १७ वर्षीय बालक बसन्त भाटलाई ०७५ माघ २ गते अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई गिरफ्तार गरेको छ ।

डोटी जिल्लाको पुर्वीचौकी गाउँपालिका–२ का २१ वर्षीय चक्र खडका, आदर्श गापा–५ स्थायी घर भई धनगढी उमनपा–२ का १९ वर्षीय हर्केश बाग, धनगढी उमनपा–२ का १९ वर्षीय कुन्दन जोशी र धनगढी उमनपा–२ का २२ वर्षीय छत्र कठायतलाई माघ २ गते प्रहरीले गिरफ्तार गरेको हो ।

धनगढीको मुख्य बजारमा रहेकोे होटल जलसा अगाडीबाट बालकलाई कुटपिट गर्दै जबरजस्ती मोटरसाइकलमा बसाली अपहरण गरी लगेको सूचना प्रहरीलाई प्राप्त भएपछि तत्काल खोजी कार्य गर्दा माघ २ गते नै अपहरित बालकलाई मोहना नदी जङ्गलबाट उद्धार गर्न सफल भएको वडा प्रहरी कार्यालय, धनगढीका इन्स्पेक्टर वकिलबहादुर सिंहले बताए ।

प्रहरी घटनास्थलमा पुग्दा अपहरणकारीहरूले बालकलाई बन्धक बनाई कुटपिट गर्दै गरेको अवस्थामा फेला पारेको बताउँदै घटनामा सङ्लग्न चारै जनालाई घटनास्थलबाटै गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा अपहरण तथा शरीर बन्धक शीर्षकमा माघ २ गते नै मुद्दा दर्ता गरेको इन्स्पेक्टर सिंहले बताए ।

पीडित बालकको स्वास्थ्य उपचार माघ २ गते सेती अञ्चल अस्पतालमा भएपश्चात बालकलाई आफन्तको जिम्मा लगाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय,कैलालीका इन्स्पेक्टर गोविन्दबहादुर खडकाले बताए ।

अन्य

भिडियो