विराटनगरस्थित विराटनगर दुग्ध वितरण आयोजनामा दुध बनाउन प्रयोग गरिने दुध पाउडरमा किरा भेटिएको छ । वाणिज्य कार्यालयको नेतृत्वमा असोज १२ गते अनुगमन टोलीले पाउडरमा किरा फेला पारेपछि यो विषय सार्वजनिक भएको हो ।
अनुगमन पश्चात देखिएको उक्त कार्यले ग्राहकले भरपर्दो रूपमा लिएको दुग्ध वितरण आयोजनाले ग्राहकहरूलाई अस्वस्थ्य दुग्धजन्य पदार्थ विक्री वितरण गर्ने गरेको उपभोक्ताहरूको भनाई रहेको छ ।
अनुगमन टोलीले दुग्धविकास संस्थानको प्रयोगशाला, भण्डारकक्ष र उत्पादन कक्षको अनुगमन गरेको थियो । पाउडरमा किरा भेटिएसँगै गोदाम र उत्पादन कक्षमा लापारबाही गरेको भन्दै सम्बन्धित कर्मचारीलाई कारबाही गर्न संस्थानलाई टोलीले निर्देशन दिएको छ ।
उत्पादन र भण्डारण कक्षमा फोहर देखिएको भन्दै टोलीले उक्त कक्षहरूमा एप्रोन, पञ्जा प्रयोग गर्न निर्देशन दिएको छ । अनुगमन टोलीकी सदस्य तथा कन्जुमर आइ नेपालकी अध्यक्ष विमला खनालले अनुगमनका क्रममा किरा भेटिएकोले चेतावनी दिँदै सचेत गरिएको र अब केही हप्तामै सुधार नभए कारबाही गरिने बताइन् ।
संस्थानमा भेटिएको किरा सहितको पाउडरको बोरा नष्ट गरिएको छ । उक्त वितरण केन्द्रले दैनिक २ हजार ५ सय लिटर दही, १० हजार लिटर दुध, १ हजार किलो पनिर उत्पादन तथा विक्री गर्दे आएको जनाएको छ ।