सिमरामा ०८२ मङ्सिर ३ गते बिहान जेनजी समूह र नेकपा (एमाले)का कार्यकर्ताबीच भएको झडपपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । अवस्था तनावग्रस्त बनेको कारण गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ–बायाँ ५ सय मिटर र सिमरा विमानस्थलको वरिपरि ५ सय मिटरसम्म मङ्सिर ३ गते दिउँसो १२ः३० बजेदेखि राति ८ बजेसम्म कुनै पनि प्रकारको भेला, जुलस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न प्रतिबन्ध लगाउदै प्रशासनले कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रले जाकारी दिनु भयो ।
युवा जनजागरण अभियान कार्यक्रम अन्तर्गत परवानिपुर –६ मा युवा संघले आयोजन गरेको मधेश प्रदेश स्तरीय कार्यक्रमलाई सम्बोधन गर्न एमालेका महासचिव शङ्कर पोखरेल र नेता महेश बस्नेत आउने भएपछि सिमरा चोक र विमानस्थल अगाडि जेनजीले विरोध प्रदर्शन गरेका थिए । सोही क्रममा जेनजी र युवा संघका कार्यकर्ताबीच झडप भएको हो ।
आक्रोशित समूहले सिमरा विमानस्थलको मुख्य प्रवेशद्वारमा रहेको फलामको गेट तोडेको जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरी र जेनजीबीच समेत झडप भयो ।