निर्मलाको ‘भेजाइनल स्वाब’मा भएको डिएनए वास्तविक भए नभएको पुष्टि गर्न रगत नमूना दिएको आरोपमा निर्मलाका वुवा यज्ञराज पन्तले पुस २५ गते निर्मलाकी आमा दुर्गादेवी पन्तलाई हातपात तथा दुर्व्यवहार गरेका छन ।
डिएनए परीक्षणका लागि रगतको नमुना संकलन गरिएको विषयमा असन्तुष्टि जनाउँदै पति यज्ञराज र सौता लक्ष्मीले आफूमाथि दुर्व्यवहार गरेको दुर्गादेवी पन्तले बताइन् ।
‘निर्मलाको स्वाबमा भएको डिएनए सही हो कि होइन भनेर जाँच्नुपर्ने माग हामीले नै गरेका थियौँ ।’–उनले भनिन्–‘बुवा र मेरा रगतको नमूना लिने कुरा थियो । म तीन–चार दिन जिल्ला प्रशासन कार्यालय गएँ तर बुवा नगएपछि हिजो बाध्य भएर एक्लै रगतको नमुना सङ्कलन गरेँ ।’
रगतको नमूना सङ्कलन गराएपछि आफूलाई पतिले हातपात गरेको दुर्गादेवीले बताइन् । बिहान खाना पकाउँदै गर्दा पतिले आफ्नो घाँटी अठ्याउँदै कुटपिट गरेको दुर्गादेवीले बताइन् ।
छोरीको हत्या भएको ६ महिना बितिसक्दा पनि न्याय नपाइएको बताउँदै आफूले राहत रकम बुझ्ने निर्णयसमेत गरेको उनले बताइन् । आमाले राहत रकम बुझ्ने निर्णय गरे पनि निर्मलाका बुवाले भने असन्तुष्टि जनाएका छन् ।
उनले राहतको रकम बुझेर सरकारलाई अनुसन्धानका लागि सहयोग गर्ने बताइन् । आफूले राहत रकम बुझ्न खोज्दा पति र सौताले आफूमाथि दुर्व्यवहार गरेको दुर्गादेवीले गुनासो गरिन् ।