सरकारले ०८२ माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन तयारी गरेसँगै कोशी प्रदेश निर्वाचन कार्यालय, विराटनगरले आवश्यक तयारी थालेको छ ।
आगामी ०८२ फागुन २० गते राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल सकिनु ३५ दिन अगावै निर्वाचन गर्नु पर्ने व्यवस्था अनुसार सरकारले आगामी ०८२ माघ ११ गतेका लागि राष्ट्रिय सभाको निर्वाचन मिति घोषणा गरेको छ ।
कोशी प्रदेशबाट राष्ट्रिय सभामा रहेका एमालेबाट निर्वाचित इन्दिरादेवी कोइराला र माओवादी केन्द्रबाट निर्वाचित गोपीबहादुर सार्की अछामीको कार्यकाल ०८२ फागुन २० गते समाप्त हुँदैछ ।
कोशी प्रदेशबाट निर्वाचित हुने दुई पदका लागि आवश्यक तयारी थालिएको प्रदेश निर्वाचन कार्यालय, विराटनगरका प्रमुख युवराज गुरागाईँले बताउनु भयो ।
राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले जिल्लास्थित निर्वाचन कार्यालयहरूसँग निर्वाचनका लागि आवश्यक मतदानस्थल, केन्द्र र ब्यालेटबक्सलगायतको विवरण माग गरेको प्रदेश निर्वाचन कार्यालय, विराटनगरका प्रमुख युवराज गुरागाईँले बताउनु भयो ।
आगामी ०८२ माघ ११ गते हुने राष्ट्रियसभाका लागि आवश्यक सामग्रीको विवरण माग गरेसँगै निर्वाचनको तयारी थालिएको प्रमुख गुरागाईँले बताउनु भयो ।
राष्ट्रियसभा निर्वाचनका लागि स्थानीय तह र प्रदेशसभाका सदस्यहरूले मात्रै मतदान गर्ने हुँदा कोशी प्रदेशमा एक मतदानस्थल र दुई ओटा बुथ मात्रै रहने प्रमुख गुरागाईँले बताउनु भयो ।
कोशी प्रदेशमा स्थानीयतहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी २ सय ७४ जना र प्रदेशसभाका ९३ जना सदस्यहरूले मतदात गर्नेछन् ।
राष्ट्रियसभाको लागि कोशीमा स्थानीय तहका २ सय ७४ र प्रदेशका ९३ सांसद गरी कूल ३ सय ६७ मतदाता छन् ।
राष्ट्रिय सभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले मत गणना हुन्छ ।