INSEC Online

📅 २०८३ जेष्ठ २१

छाउगोठमा आगलागी हुँदा आमा र दुई छोराको मृत्यु

बुढीनन्दा नगरपालिका-९ को अङ्गाउपानीमा छाउगोठमा निसास्सियर तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काशी बोहेाराकी ३५ वर्षीया पत्नी अम्वा बोहोरा, उनका नौ वर्षीय छोरा सुरेश बोहोरा र सात वर्षीय छोरा रमित बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

महिनावारी भएर छाउगोठमा सुतिरहेको अवस्थामा पुस २५ गते बिहान मृत अवस्थामा फेला पारिएको बुडीनन्दा नपा-९ का वडा अध्यक्ष खड्क बोहाराले वताए ।

महिनावारी भएर घरसँगै जोडिएको छाउपडी गोठमा आगो बालेर सुतिरहेको अवस्थामा कम्बलमा आगोलागेपछि निसास्सिएर मृत्यु भएको हुन सक्ने स्थानीयले बताएका छन् ।

मृतक बोहोराकी सासू आमाले विहान पाँच बजे तिर नास्ता दिन जाने बेला मृत्यु भएको अवस्थामा देखेपछि घटना बाहिर आएको हो । मृतक बोहोराका पति काशी बोहोरा भने मजदुरीका लागि भारतमा रहेको वडा अध्यक्ष खड्क बोहाराले वताए ।

जिल्ला प्रहरी कार्यालय, बाजुराका प्रमुख उद्धमसिंह भागले आफूलगायत प्रहरीको टोली घटनास्थल पुगी घटनाको अध्ययन गरीरहेको बताएका छन ।

मृतक तीनै जनाको पोष्टमार्टमका लागि कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र ल्याउने तयारी भइरहेको  जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटनास्थल सदरमुकाम मार्तडीबाट पाँच घण्टाको पैदल दुरीमा रहेको छ ।

सुदुरपश्चिम प्रदेशका अन्य जिल्ला झैँ बाजुरा जिल्लामा पनि छाउपडी कुप्रथाले जरा गाडेको अवस्था छ । छाउपडी भएको अवस्थामा अविवाहित महिलाहरू त झनै कडा नियम पालना गर्न बाध्य हुन्छन् ।

यस जिल्लामा छाउपडी भएको समयमा विवाहित महिलाले पाँच दिन र अविवाहितका लागि भने  सात दिनसम्म छाउपडी गोठमा बस्नु पर्ने बाध्यता छ ।

छाउपडी भएको समयमा घरमा बसे देवीदेवता रिसाउने जस्ता परम्परागत अन्धविश्वास र मान्यता समेत रहिआएको छ ।

गाई भैँसीको गोरसपात खान पाउने कुरा त परै जाओस दुहुना गाई भैँसी छोएमा पनि उनीहरूले खप्की सहनु पर्ने हुन्छ ।

छुई हुने मान्यताकै कारण महिनावारी भएकी महिलालाई घर बाहिर एक्लै अलग्गै बस्नु पर्दा बलात्कृत हुनु पर्ने, जङ्गली जनावरको शिकार हुने, सर्पले टोक्ने गरेका घटना विगतमा समेत सार्वजनिक भएका हुन । जिल्लामा हिमपात सूरू भएपछि भने झन् महिनावारी भएका महिला तथा किशोरीलाई समस्या भएको छ ।

अन्य

भिडियो