मधेस प्रदेशका मुख्यमन्त्री कार्यालय अगाडि ०८२ कात्तिक २५ गते साँझ धर्नामा बसेका नेता–कार्यकर्तामाथि प्रहरीले लाठी चार्ज गर्दा १० जना घाइते भएका छन्।
घाइते हुनेमध्ये जनमत पार्टी महोत्तरी जिल्ला इञ्चार्ज ३५ वर्षीय वीरेन्द्र कुमार मण्डल, रामबिनोद चौधरी, ज्ञानेन्द्र झा, बिरेन्द्र यादव, सुरेन्द्र यादव, आदर्श मण्डल, बिद्धान्त झा, युवराज मिश्रा, रामेश्वर मण्डल र नागरिक मिररका पत्रकार सुरेन्द्र कुमार यादव रहेका छन् ।
प्रहरीको लाठी चार्जबाट नाकमा गहिरो चोट लागेका विरेन्द्र कुमारको उपचार जनकपुरधामस्थित हिरा हेल्थ केयर सेन्टरमा भइरहेको छ । अन्य घाइतेहरुको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको पूर्व मुख्यमन्त्री जितेन्द्र प्रसाद सुनार सोनलले जानकारी दिनुभयो।
संवैधानिक प्रावधान विपरित नेकपा एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि विरोध प्रदर्शन तीव्र बनेको हो।
असंवैधानिक नियुक्तिको विरोधमा जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवाद पार्टी नेपाल, नेपाली कांग्रेस लगायत स्वतन्त्र जनप्रतिनिधि र नागरिक समाजका व्यक्तिहरूले निरन्तर आन्दोलन गर्दै आएका छन्।
कार्तिक २५ गते साँझ मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिइरहेका बेला नवनियुक्त मुख्यमन्त्रीलाई कार्यालय प्रवेश गराई हाजिरी गराउने प्रयास भएपछि स्थिति तनावपूर्ण बनेको नेपाली कांग्रेस पार्टीबाट निर्वाचित सांसद वीरेन्द्र कुमार सिंहले बताउनुभयो।




