आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका खडग नपा–७ का ३७ वर्षीय भिखन रामलाई जिल्ला अदालतले पुस १८ गते ११ वर्ष कैद र ५० हजार क्षतिपूर्ति भराउनु पर्ने फैसला गरेको छ ।
न्यायाधीश सुदर्शन लामिछानेको इजलासले आरोपितलाई ११ वर्ष कैद सजाय र क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाले बताए ।
आरोपितले घर पछाडि खेलिरहेकी पीडितलाई रमपम चाउचाउ किनिदिने लोभ देखाई ०७५ जेठ ३१ गते राति खडग नपा–७ स्थित आँप बगैचामा बलात्कार गरेको भन्दै पीडितका बुवाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा असार १ गते उजुरी दिएका थिए ।
इलाका प्रहरी कार्यालय कल्याणपुरले आरोपितलाई असार १ गते गिरफ्तार गरी सोही दिन उजुरी दर्ता गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण लहान नपा–३ स्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा असार १ गते स्वास्थ्य परिक्षण गरिएको थियो । जिल्ला अदालतको आदेशमा आरोपित ०७५ असार २७ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।