शम्भुनाथ नपा–१२ की १६ वर्षीया गुलसन खातुनसँग बालविवाह गरेको आरोपमा जिल्ला अदालत सप्तरीले पुस १७ गते भारत बिहार राज्य मधुबनी जिल्ला न्यौर ग्राम पञ्चायतका २३ वर्षीय नसरूल भनिने निसरूल मियाँलाई एक वर्ष कैद र ५ हजार जरिवानाको फैसला गरेको छ ।
जिल्ला अदालतको आदेशमा जेठ २३ गतेदेखि पुर्पक्षका लागि राजविराज कारगारमा थुनामा रहेका आरोपितलाई एक वर्ष कैद र ५ हजार जरिवानाको फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार दिलकुमार बर्देवाले जानकारी दिए ।
आरोपितले छिमेकी मुलुक भारतमा भगाई लगी ०७४ चैत २८ गते बालविवाह गरेको भन्दै पीडितका बुवा ४९ वर्षीय बिजली मियाँले ०७५ वैशाख ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले भारतीय प्रहरीको सहयोगमा ०७५ बैशाख ३० गते आरोपित मियाँलाई गिरफ्तार गरी सोही दिन उजुरी दर्ता गरेको थियो ।
आरोपितले सामाजिक परम्पराअनुसार दुवै पक्षको सहमतिमा विवाह गरेको भन्दै बालिकाका बुवाले उजुरी दिएकोमा आश्चर्य प्रकट गरेका छन् ।