INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेक र राष्टिय मानव अधिकार आयोगको संयुक्त टोलीद्वारा दलित बस्तीको स्थलगत अध्यन

मिर्चैया नपा–७ मा ९० वर्षदेखि बस्दै आएको दलित बस्तीको जग्गा विक्री भएको घटनाको इन्सेक प्रदेश २ को कार्यालय जनकपुर र राष्टिय मानव अधिकार आयोग प्रदेश २ को कार्यालय जनकपुरले पुष १६ गते संयुक्त स्थलगत अध्यन गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ का प्रमुख वीरबहादुर बुढामगर, अधिकृत इन्द्रजित सहनी र इन्सेक प्रदेश २ का संयोजक राजु पासवान र इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियार सम्मिलित टोलीले स्थलगत अध्यन गरेको हो ।

विक्री भएको दलित बस्तीमा आपूmहरू ९० वर्ष देखि बस्दै आए पनि गत मङ्सिर ९ गते जग्गा विक्री भएको सुनेपछि हामीहरूको बिचल्ली भएको स्थानीय चन्द्रदिप महराले बताए ।

हजुरबुवाहरूले कल्याणपुरका हजारी साहुलगायतले रकम लिएर जग्गा दिएपनि पछि नाममा गरिदिने भने पनि उनको मृत्यु भएको र पछि नाममा दर्ता गरी दिने भनेको जग्गा एक्कासी विक्री भएको जानकारी भएकोले गाउँबासीले न्यायको लागि पहल गरीदिन अध्यनटोलीलाई आग्रह गरेका छन् ।

तीन पुस्तादेखि बस्दै आएको दलित बस्तीको जमिन वडा कार्यालयले दिएको गलत सिफारिसका कारण विक्री भएको उनीहरूको भनाई छ ।

जग्गा धनीलाई पैसा तिरेर झण्डै ९० वर्षदेखि बस्दै आएको दलित बस्तीको जमिन वडा नं. ७ का वडा अध्यक्ष रामकुमार यादवले जग्गामा घर नभएको भन्ने सिफारिस दिएको आधारमा जग्गा व्यवसायीले खरिद गरेका थिए ।

आफ्नो बुवाले नै पैसा तिरेको भए पनि साहुले जमीन पास नगरेपछि तीन पुस्तादेखि आफूहरू बस्दै आएको जमीन अरूले पास गरेको खबरले ६५ वर्षीय घुरन महरा चिन्तित बनेका छन् ।

उनले भने–‘जग्गाधनीलाई बुवाले जग्गाको दाम दिए पनि आजभोलि भन्दाभन्दै पास गरिदिएन । अहिले उनका नातीहरूले हामीलाई सूचना नै नगरी बस्ती भएको जमिन विक्री गरेका छन् । जमीन विक्रीको खबरपछि हाम्रो भोक प्यास नै हराएको छ ।’

५५ वर्षीय विसुनिया महराका बुवाले नै कल्याणपुर जब्दी–८ का जग्गाधनी हजारी साहु भन्ने रामचन्द्र साहलाई पैसा बुझाएको बताए ।

‘साहलाई जमीनको मूल्य तिरेको भए पनि उनले तिमीहरूलाई बस्न दिएकै छु । कुनै दिन पास गरिदिउँला नि भन्दै टार्दाटार्दै उनको मृत्यु भयो ।

आज उनका नातीहरूले हामीलाई पत्तै नदिई जमीन बेचेछन् ।’–विसुनियाले भने–‘‘हामी गरिब दलितलाई उठिवास लगाउने नियतले जमीन बेचेको हो । यसमा वडा अध्यक्षले पनि बदमासी गरेछन् ।’

जमिन विक्री भएपछि घुरन र विसुनियामात्र होइन महरा बस्तीका २८ घर परिवार चिन्तित भएका छन् । दलित बस्तीमा बस्नेहरूको बस्ने घरबाहेक अरू जग्गाजमनि केही छैन ।

रामचन्द्रको मृत्युपछि पनि आफूहरूले उनका छोरालाई आफ्नो नाममा जग्गा पास गरिदिन आग्रह गर्दै आएको महरा बस्तीका अगुवा बताउँछन् ।

रामचन्द्रका छोराले पनि आजभोलि गर्दै जमीन पास गरिदिएनन् । महरा बस्तीका कसैलाई थाहै नदिई उनका नातीहरू श्रवणकुमार साह, दिपनारायण साह, सत्यनारायण साह, रामेश्वर साहलगायतले गएको मङ्सिर ९ गते धनुषाको सवैला नगरपालिका–१२, रघुनाथपुरका जग्गा व्यवसायी सुरेशकुमार महतोलाई दलित बस्ती रहेको ६ कठ्ठा जमिन विक्री गरेका हुन् ।

वडाध्यक्ष रामकुमार यादवले आफू जहिले पनि दलितहरूकै पक्षमा रहेको भन्दै आफूसँग सिफारिस गरेको जमीनमा दलित बस्ती भएको जानकारी नभएकोले सिफारिस दिएको बताए ।

उनले आफूबाट गल्ती भएको भन्दै अब बस्तीको जमीन फर्काउन सक्ने सबै खालको सहयोग गर्ने बताए ।

अन्य

भिडियो