जिल्ला सदरमुकाम डोटी, दिपायल र ग्रामीण क्षेत्रका स्थानीय बजारमा दलित समुदायले पालेका गाई भैँसीको दुध किनबेच नहुने गरेको दलित समुदायका व्यक्तिहरूले गुनासो गरेका छन् ।
पछिल्लो समयमा दलितलाई होटेल तथा सार्वजनिक स्थलमा सामान्य रूपमा प्रवेश गर्न दिइए पनि आफूहरूले उत्पादन गरेको दुध बजारमा विक्री गर्न जाँदा किनबेच नहुने शिखर नगरपालिका–११ का स्थानीय ५० वर्षीय धर्म कामीले गुनासो गरे ।
‘डोटी जिल्लाको सदरमुकाम दिपायल लगेर समेत दुध विक्री गर्ने प्रयास गरियो तर व्यापारीहरूले थर सोध्ने गरेका कारण आफू दलित समुदायको भनेपछि गैरदलितहरूले दुध किन्न अस्वीकार गर्छन् ।’–कामीले भने ।
उनले भने–‘मैले मात्रै दुध दिने दुई ओटा भैँसी पालेको छु । नजिकै रहेको गोपघाटको बजारमा दुध बेच्नको लागि लगे तर दलितले उत्पादन गरेको दुध भन्दै कसैले किन्न मानेनन् ।’
जिल्लास्थित दुध डेरीहरूमा समेत दलित समुदायले उत्पादन गरेको दुध किन्न नमानेपछि उनीहरूले उत्पादन गरेको दुध विक्री हुन नसकेको सामुदायिक विकाश केन्द्र, डोटीका सामाजिक परिचालक डम्मरसिंह कामीले बताए ।
आफूहरूले उत्पादन गरेको दुध विक्री नहुँदा घिउ उत्पादन गरी दलितहरूलाई नै सस्तो मुल्यमा बेच्न बाध्य भएका शिखर नगरपालिका–११ अम्डोराकी बसन्ती बिकले दुखेसो पोखिन् ।
नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरी कानुनी रूपमा जातीय छुवाछुत गर्न नपाइने व्यवस्था गरिएको भए पनि डोटीका ग्रामीण क्षेत्रमा अझै पनि दलितमाथि जातीय विभेद कायमै रहेको सामाजिक कार्यकर्ता चक्र भुलले बताए ।
दिपायलस्थित जोशी दुध डेरीका सञ्चालक खगेन्द्र जोशीले दलितहरूले आफैँले अप्ठेरो मानेर डेरीमा दुध विक्री गर्न नआएको बताउँदै सफा र स्वाच्छ तरिकाबाट कसैले पनि दुध बिवक्री गर्न आएको अवस्थामा आफू दुध किन्न तयार रहेको बताए ।
शिखर नगरपालिकाका प्रमुख सिताराम जोशीले दलित भएकै कारण कुनै दुध डेरीले दलितहरूले उत्पादन गरेको दुध किन्न अस्वीकार गरेको आफूलाई जानकारी नभएको र दलित समुदायले किटानी सहित आएको खण्डमा जो कोहीलाई पनि कानुनी कारवाही गरिने बताए ।