वालिङ नगरपालिका घर भई सुन्दरबजार नगरपालिकामा लेखापालका रूपमा कार्यरत ४५ वर्षीय श्यामबहादुर पराजुलीलाई सुन्दरबजार नगरपालिका–२ का ३५ वर्षीय नविनकुमार श्रेष्ठले कार्यकक्षमै हातपात गरेका छन् ।
पीडितलाई आरोपितले पुस १६ गते बिहान ११ बजे कार्यकक्षमै कुटपिट गरेको प्रत्यक्षदर्शी हुमनाथ पौडेलले बताए ।
सुन्दरबजार नगरपालिकाले खरिद गर्न लागेको औषधिको टेण्डरको विषयलाई लिएर नविनले पराजुली माथि हातपात गरेको नगर प्रमुख जनकराज मिश्रले बताए ।
घटना भए लगत्तै पीडित पक्षले इलाका प्रहरी कार्यलयमा उजुरी दिएपछि प्रहरी घटनास्थलमा पुगेपनि आरोपित नविन भने फरार रहेको डिएसपी यादव ढकालले बताए ।
आरोपित नविनको खोजी कार्य जारी रहेको ढकालले उल्लेख गरे । कुटपिटबाट घाइतेको नाकमा चोट लागेको छ ।
आरोपितले लगाएको औँठीले पराजुलीको नाकमा चोट लागेको बताइएको छ । घाइतेको उपचार जिल्ला सामुदायिक अस्पतालमा भइरहेको अस्पतालका डाक्टर हिक्मत भण्डारीले बताए ।
कुटपिटबाट घाइते भएका पीडितको नाक भाँचिएको एक्सरे रिपोर्टमा देखिएको डाक्टर भण्डारीको भनाई छ ।
जिल्ला सामुदायिक अस्पतालमा पुगी प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकाल र डिएसपी यादव ढकालले घाइतेलाइ भेटी दोषिलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
घटना भएपछि असुरक्षाको कारण देखाउँदै नियमित काम समेत ठप्प गरेको सहायक लेखापाल हुमनाथ ढकालले बताए । दोषीलाइ कारवाही नगरेसम्म कार्यालयको नियमित काम नगर्ने कर्मचारीहरूले बताए ।