INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय तहमा कर्मचारी नहुँदा काम गर्न समस्या, ६९ वडामध्ये ५४ वडा सचिवविहीन

बाजुरा जिल्लाका नौ ओटै स्थानीय तहमा कर्मचारी अभाव भएको छ । कर्मचारी नहुँदा स्थानीयको कामकाज प्रभावित भएको सेवाग्राहीको गुनासो छ ।

जिल्लाका विकट ठाँउमा रहेका गाँउपालिकामा भने झनै समस्या भएको छ । कर्मचारी नहुँदा गाँउपालिका र नगरपालिकाको सेवा लिनका लागि समदरमुकाममै पुग्नु पर्ने बाध्यता रहेको छ । हिमाली गाँउपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले भने नयाँ संरचना आयो भनेको त झन् काम गर्न गार्‍हो भएको बताए ।

सिंहदरवारको अधिकार गाउँगाउँमा भने पनि स्थानीय सेवाग्राहीलाई सुर्लभ सेवा दिन नसकेको वडा अध्यक्षहरूले बताएका छन् ।

‘गाउँमा सबै सेवा उपलब्ध गराउने भनेर चुनावी प्रचार गरियो तर कर्मचारी व्यवस्थापनमा समस्या भएकाले जनताको माग पूरा गर्न सकिएन ।’–बडिमालिका नगरपालिका–७ का वडाअध्यक्ष धर्मराज पाध्यायले भने–‘कर्मचारी छैनन् कसरी वडा कार्यलय चलाउने ?’ कार्यलय सचिवदेखि वडा अध्यक्षसम्म सबै काम आफैँले गर्ने गरेको पाध्यायले बताए ।

गाँउपालिका र नगरपालिकामा वडा कार्यलयसमेत स्थापना भइसकेका छन् तर कर्मचारी भने छैनन् ।
दुर्गममा भने पहिला जस्तै कर्मचारी बस्न नमान्ने अवस्था रहेको छ । बडिमालिका नगरपालिकाका प्रमुख पदम बढुवालले भने ९ ओटा वडाहरूमा एक जना वडा सचिवले काम सम्हालेको बताए ।

बाजुरामा पाँच गाउँपालिका र चार नगरपालिका गरी नौ ओटा स्थानीय तह रहेका छन् । जिल्लाभर ६९ वडाहरूमा ५४ वडा सचिवविहीन छन् ।

यी स्थानीय तहका वडामा १ सय २९ जना प्रशासनिक कर्मचारी अभाव रहेको जिल्ला समन्वय समितिका सभापति नरेन्द्रकुमार रोकायाले बताएका छन् ।

वडामा सुब्बा स्तरको कर्मचारी हुनु पर्ने व्यवस्था भएपनि खरिदारसमेत नभएको प्रमुख रोकायाले बताए ।

कर्मचारी व्यवस्थापन समितिले भने कर्मचारी आवश्यक भनेर सामान्य प्रशासन मन्त्रालयलगायत अन्य निकायमा पठाइसकेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए ।

अन्य

भिडियो