रामेछाप नगरपालिकास्थित पुरानो सदरमुकाम रामेछाप बजारमा अनुमति नै नलिई सामान विक्री गरी वर्षौँदेखि उपभोक्तालाई ठग्नुको साथै उनीहरूको स्वास्थ्यमा समेत खेलबाड गरेको पाइएको छ ।
बिहिबारे हाटमा ०७५ पुस १२ गते गरिएको बजार अनुगमनमा अनुमति विना सामान विक्री गरिएको पाइएको हो ।
अनुगनका क्रममा उपभोग्य म्याद नाघेका तथा अनुमति विना विक्री गरिएको सुर्तीजन्य बस्तु ठूलो परिमाणमा बरामद गरिएको छ । यसैगरी तौल नपुग्ने माना पाथि र मापदण्ड विपरीतका तराजु समेत जफत गरिएको छ ।
सो क्रममा ७० हजारभन्दा बढी मुल्य पर्ने सामग्री जफत गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।
प्रशासन कार्यालय रामेछापका नायब सुब्बा लक्ष्मण भुजेलको नेतृत्वको घरेलु तथा साना उद्योग विकास समिति मन्थली, रामेछाप उद्योग वाणिज्य सङ्घ र जिल्ला प्रहरी कार्यालयको संयुक्त बजार अनुगमन टोलीले रामेछाप बजारका हाटबजार तथा पसलहरूमा अनुगमनका क्रममा विना इजाजत विक्रि गरिरहेको ५ बोरा सुर्ती, १५ पेटी चुरोट, बिँडी सात मुठा, मापदण्ड नपुगेका ३८ ओटा माना र चार ओटा पाथी जफत गरेको हो ।
अनुगमन टोलीले उपभोग्य मिति भएको सामग्रीमा टिपेक्स लगाएर विक्री गरिरहेको दुई बोरा कस्मेटिक सामग्री समेत जफत गरेको छ ।
जफत गरेको सामाग्री ७० हजार भन्दा बढी मुल्य बराबरको रहेको जिल्ला प्रशासन कार्यालय रामेछापका नायब सुब्बा लक्ष्मण भुजेलले जानकारी दिए । टोलीले बजारस्थित ग्यास तथा मासु मसलको समेत अनुगमन गरेका थिए ।
यता व्यवसायीहरूले भने प्रशासनको अनुगमन पद्धति प्रति आक्रोश व्यक्त गरेका छन् । सो क्रममा अनुगमन टोली र व्यवासयीबिच केही बेर विवाद समेत भएको थियो ।
विक्रेताहरूले भने सुर्तीजन्य सामग्री विक्री वितरण गर्न अनुमति लिनपर्ने कुरा र माना पाथिको प्रयोग गर्न नपाउने भन्ने बारेमा आफूहरूलाई थाहा नै नभएको बताएका छन् ।
हाटमा पसल राखे बापत आफुहरूले नगरपालिकालाई पैसा तिरिरहेको भन्दै उनीहरूले सामान जफत गरेकोमा आक्रोश व्यक्त गरे ।
बजारमा किनमेलका लागि आएका उपभोक्ताहरूले भने बजार अनुगमन अत्यावश्यक रहेको बताएका छन् ।
हाटमा म्याद गुज्रिएका सामग्री विक्री भइरहेको र नाप तौलमा गाउँघरका चलन चल्तिका साना माना पाथिको प्रयोग भइरहेकाले यसलाई नियन्त्रण गर्नुपर्ने उपभोक्ताहरूको भनाई छ ।
रामेछाप नगरपालिका प्रमुख नरबहादुर थापामगरले बजार क्षेत्रको अनुगमन अत्यावश्यक रहेको बताए ।
उनले विना अनुमति व्यापारीहरूले विभिन्न व्यवसाय सञ्चालन गरिरहेकाले यसलाई राज्यले तोकेको मापदण्डमा ल्याउन पनि यस्ता अनुगमन हुनुपर्ने बताए ।
आगामी दिनमा जिल्ला प्रशासनसँग थप समन्वय गरी बजार अनुगमनलाई थप कडा पारिने नगर प्रमुख थापामगरले बताए ।