उत्तरी धादिङको रूबीभ्याली गाउँपालिका कार्यालय सदरमुकामबाट गाउँतर्फ नजाँदा गाँउबासीले सेवा पाउन सास्ती खेपिरहेका छन् ।
असुरक्षाको कारण देखाउँदै २०५३ सालदेखि जिल्ला सदरमुकाममा तत्कालिन गाविस कार्यालय राखेर काम गरिएपछि शाान्ति सम्झौता, संविधानसभाको निर्वाचन, स्थानीय सरकार गठन भएपनि गाउँमा सरकार नगएपछि भूकम्पले आक्रान्त रुबी भ्यालीबासी सास्ती खेप्न बाध्य भएका हुन् ।
पहिरो माथी बनाइएको बस्ती सरकारले बस्न अयोग्य भनिसक्दा गाउँबासीले दोश्रो किस्ताको रकम लिइसकेको अवस्थामा रूष्ट भएका तिप्लिङबासी हरेक काममा सास्ती व्यहोर्नु पर्दा समस्या माथि अझ समस्या थपिँदै आएको बासीन्दा सुकबहादुर तामाङले बताए ।
स्थानीय सरकारले गाउँमा सुरक्षा नभएको भन्दै गाँउमा गाउँपालिका कार्यालय नलगेर सदरमुकाममै भाडाको घरमा कार्यालय सञ्चालन भइरहेको छ ।
जसका कारण तिन दिन लगाएर गाउँको काम लिन सेवाग्राही सदरमुकाम आउनु पर्ने बाध्यता रहेको र यसरी आउँदा पनि कर्मचारी र गाउँपालिका प्रमुख नभेटिएको गाउँबासीको गुनासो छ । गाउँपालिका भरीमा ३ हजार १ सय भूकम्प पीडित लाभग्राही सूचीमा रहेका छन् ।
भूकम्प प्रभावित लाभग्राहीको समस्या रहेको गाउँपालिकामा नागरिकताको सिफारिस लिन, जन्म दर्ता, विवाह दर्ता, बसाइसराइ लिनका लागि समेत सदरमुकाम आउनु पर्ने यसरी आउँदा समेत काम नभएकोले आफूले कार्यालयमा दिनभर कुरेर बस्नु परेको सेवाग्राही बिमडोमा तामाङले बताइन् ।
गाउँपालिका कार्यालय गाउँमै सार्नका लागि सुरक्षा को व्यवस्था हुनु पर्ने, सडक, बत्ती, बाटो पुग्नु पर्ने, र बैङ्क समेत पुग्नु पर्ने भएकोले सदरमुकामबाटै काम गरिरहेको कार्यालयका मर्कचारीहरूले बताए ।
रूबीभ्याली गाउँपालिका क्षेत्रमा विकास नभएकै कारण बैङ्कले समेत असुरक्षाको कारण देखाउँदै गाउँ जान नमानेपछि गाउँमा कार्यालय सञ्चालनमा समस्या आएको रूबीभ्याली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खेमबहादुर खत्रीले बताए ।
तत्कालीन लामा, सेर्तुङ र तिप्लिङ गाविस मिलेर बनेको रूबीभ्याली गाउँपालिकामा ६ ओटा वडाहरू भएपनि सरकारले एक जनामात्र वडा सचिव पठाएको, प्राविधिक कर्मचारी नपठाएकोले विकासमा बजेटको १० प्रतिशत पनि काम हुन नसकेको कर्मचारीहरूले जानकारी दिएका छन् ।
सरकारले समेत कर्मचारी नपठाएको गुनासो गरिएपनि गाउँमा कार्यालय राखेर सेवा नदिएसम्म भूकम्प पीडितहरूले आफ्नो घर बनाउन समस्या भोगिनै रहनु पर्ने अवस्था छ ।
रूबीभ्याली सदरमुकामबाट धादिङबेसी तिप्लिङ सडक खण्डको डुण्टुरेसम्म ४२ किलोमिटर कच्ची सडक छ भने यसभन्दा माथि २१ किलोमिटर बाटो पैदल हिँडेर जानु पर्ने हुन्छ ।