जिल्लाको चौरजहारी नगरपालिका–७ मेलैनाउली स्थित मेलैनाउली–तिल्केझार–मनकोट विद्यालय हुँदै मनकोट गाउँ पुग्ने सडक निर्माण कार्यमा स्थानीयले अवरोध गरेपछि हटाउन गएका प्रहरीलाई पुस १२ गते आक्रमण गरेको भन्दै प्रहरीले ९ जनालाई गिरफ्तार गरेको छ ।
अवरुद्ध सडक खुलाउन छलफल गराइरहेको क्रममा मदिरा सेवन गरेर प्रहरी इन्स्पेक्टर प्रमोद क्षेत्रीमाथि गालीगलौज र हातपात समेत गरेको आरोपमा चौरजहारी नगरपालिका–४ का २८ वर्षीय निरक भण्डारी र ३० वर्षीय प्रकाश भण्डारीलाई पुस १२ गते गिरफ्तार गरिएको हो ।
त्यस्तै सडक निर्माणमा अवरोध गरेको र अवरोध हटाउँदा प्रहरीमाथि नै आक्रमण गरेको भन्दै चौरजहारी नगरपालिका–४ का ३३ वर्षीय चन्द्रबहादुर खड्का, वडा नम्बर ८ का २८ वर्षीय सविन बुढाथोकी र ३२ वर्षीय बालाराम जैसी, चौरजहारी नगरपालिका–७ का ६० वर्षीय बीरबहादुर कुमाल, ३८ वर्षीय शंकर जैसी, ३२ वर्षीय खेमराज जैसी र वडा नम्बर १ का २३ वर्षीय नरेश लामिछानेलाई पुस १३ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
उनीहरूको आक्रमणका कारण प्रहरी हवल्दार निर्मला बिक र प्रहरी जवान टेकबहादुर बस्नेत घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी सुमित खड्काले बताए ।
घाइते दुवैजनाको उपचार चौरजहारी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । उनीहरूमाथि ०७५ पुस १३ गते सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरूद्धको कसुरमा मुद्दा दर्ता गरिएको डिएसपी खड्काले बताए ।