INSEC Online

📅 २०८३ जेष्ठ २१

मोटरसाइकल दाइजोमा नल्याएको आरोपमा घर निकाला

दाइजोमा मोटरसाइकल नल्याएको आरोपमा २२ वर्षीया हसबुल खातुनलाई उनको परिवारले सात महिनाअघि घरबाट निकाला गरी दिएपछि आफू विचल्लिमा परेको पीडितले गुनासो गरेकी छिन् ।

भारतको अररीया जिल्ला पतराहा ग्राम पञ्चायतबाट बर्जु गाँउपालिका–६ मा चार वर्षअघि विवाह गरी ल्याइएकी पीडितले घरपरिवारले दाइजोमा मोटरसाइकल नल्याएको आरोपमा घरबाट निकाला गरेको आरोप लगाइन् ।

उनले मुस्लिम परम्परा अनुसार विवाह गरेको र विवाह अघि ६० हजार रुपियाँ नगद र २ लाख रुपियाँ बराबरको जिन्सी सामान माग बमोजिम दिएपनि सात महिनाअघि मोटरसाइकल ल्याउन दबाब दिँदै २४ वर्षीया पति रियाज अन्सारी, ४४ वर्षीया सासू हरिला खातुन, ४६ वर्षीया ससुरा मुसा अन्सारी र २७ वर्षीया जेठानी सुविदा खातुनले घरबाट निकाला गरेको गुनासो गरिन् ।

शर्त अनुसार सबै कुरा दिएर विवाह गरेको भएपनि मोटरसाइकल ल्याउन दबाब दिँदै छोरीलाई घरपरिवारले निकाला गरीदिएको पीडितका बावु तैयुब मियाँले बताए ।

पीडितले उनका बावुलाई घरपरिवारले मोटरसाइकलको माग गरेको बताएपछि पीडितका बावुले दिन नसक्ने भनी जबाफ दिएका थिए ।

सात महिनायता माइतीमा बस्दै आएकी छोरी मानसिक रूपमा विक्षिप्त बनेको बावु तैयुव मियाँले बताए ।

छोरीको अवस्था नाजुक भएकाले पटक–पटक गाँउघरमा पञ्चायत बसी समस्या समाधानका लागि प्रयास गरेपनि सफल नभएको पीडितका बावुले बताए ।

उनले पञ्चायत बस्दा छोरीका परिवारले सहमति जनाउने र सोही दिनबाट फेरि शारीरिक यातना दिनुका साथै मानसिक तनाब दिने गरेको बताए ।

समस्या समाधानका लागि प्रहरीमा उजुरी दिएपनि प्रहरीले मिलापत्र गरी पठाउने भएकाले छोरीले न्याय पाउन नसकेको तैयुब मियाको भनाई छ ।

एक वर्ष अघिदेखि रोजगारीका क्रममा पति कतारमा रहेका कारण सम्बन्ध विच्छेद गर्न नसकिएको पीडितको भनाई छ ।

पीडित खातुनले न्यायका लागि स्थानीय सरकार, प्रशासन र मानव अधिकारकर्मीलाई आग्रह गरेकी छिन् ।

अन्य

भिडियो