कर्मचारी समायोजन ऐन, २०७५ ले स्थानीय तहमा कार्यरत कर्मचारीको वृत्ति विकास नहुने भन्दै सुनसरीका १२ वटै स्थानीय तहका कर्मचारी एघारौँ दिनयता आन्दोलनमा रहँदा सेवाग्राहीहरू सेवा विमुख भएका छन् ।
कर्मचारीको आन्दोलनका कारण गढी गाउँपालिका-५ की २२ वर्षीया सुकनी सदा छोराको जन्मदर्ता बनाउन वडा कार्यालय धाएको साता बित्यो । तर, उनले अझै छोराको जन्मदर्ता बनाउन नसकेको बताइन् ।
इनरूवा नगरपालिका-९ बबियाका ३४ वर्षीय दिपेन्द्र यादव चार किल्ला प्रमाणितको सिफारिस लिन आन्दोलन सुरू भएयता तीन पटकभन्दा बढी कार्यालय पुगे तर कर्मचारीको आन्दोलनका कारण काम नहुँदा उनी गुनासो पोख्न थालेका छन् । उनले कसैगरी पनि सेवाग्राहीलाई मर्का नपार्ने भन्दै यसको विकल्प खोज्न कर्मचारीसँग आग्रह गरेका छन् ।
कोशी गाउँपालिका-५ का मुस्ताक आलमले आफू वडामा बसाइसराई सिफारिस लिन चार पटक गएपनि सिफारिस नपाएर फर्कन बाध्य भएको बताए । उनले जतिपटक कार्यालय पुगेपनि कर्मचारीको आन्दोलन छ । काम हुँदैन भनेर फर्काइदिने गरेको बताए ।
कर्मचारीको आन्दोलनका कारण सेवाग्राहीले झञ्झट र तनाव ब्यर्होनु परेको वर्जु गाउँपालिका-२ का वडाध्यक्ष आनन्द यादवले बताए ।
निजामती कर्मचारी र स्थानीय तहका कर्मचारीलाई समायोजनका नाममा सरकारले विभेद गरेकोले त्यसको अन्त्य नहुञ्जेल आन्दोलन जारी रहने जिल्ला आन्दोलन परिचालन समितिका संयोजक खगेन्द्र खतिवडाको भनाई छ । सुनसरीका १२ ओटा स्थानीय तहका २ सय कर्मचारी आन्दोलनमा छन् ।