INSEC Online

📅 २०८३ जेष्ठ २२

कालिकोटमा जातीय विभेदका घटनामा बृद्धि

परम्परागत कुसंस्कारका रूपमा रहँदै आएको जातीय छुवाछुतका घटनाहरू कालिकोट जिल्लामा बढ्दै आएको पाइएको छ । जातीय विभेदका घटनाहरू गतवर्षको अभिलेखमा छैन भने यो वर्ष एक हत्यासहित पाँच पुगेको इन्सेकको तथ्यङ्कले जनाएको छ ।

जातीय विभेदकै कारण नरहरीनाथ गाउँपालिका-९ घरभई दलित महिलातर्फबाट निर्वाचित वडा सदस्य ४२ वर्षीया मना सार्की जेठ १९ गते हत्या भएको थियो । गैर दलितसँग शारीरिक सम्बन्ध गरेको आरोपमा उनले ज्यान गुमाउनु परेको थियो ।

सन २०१८ जनवरीदेखि डिसेम्वरसम्म पाँचओटा घटना अभिलेख गरिएको इन्सेकको तथ्याङ्कमा उल्लेख रहेको छ ।

जिल्लाको महत्वपूर्ण धार्मिक स्थलहरू चुलिमालिका, बडिमालिका, महाबु, लिङ्गासैनीलगायतका स्थानमा दलितहरूले प्रवेश गर्न पाउँदैनन् । परम्परागत सोचका कारणले दलितहरू अहिले पनि मन्दिर प्रवेश गर्न नपाउने गरिएको स्थानीय धने परिवार बताउँछन् ।

साउन पूर्णिमाको दिन रातभरी पानी परेको र लिङ्गासैनीको मन्दिरमा प्रवेश गर्न नपाउँदा चिसोले कठ्याङ्ग्रिने अवस्था आएको उनको भनाइ रहेको छ ।

‘जातीय विभेद सहँदै आएका दलित समुदायका नागरिकहरूको जन्ती जाँदा बेहुलोलाई र मलामी समेत जाँदा शवलाई छुन दिइँदैन ।’-खाँडाचक्र नपाका कार्यपालिका सदस्य रुपसिगे नेपालीले भने ।

ब्राम्हण, क्षेत्री, ठकुरी लगायतका माथिल्ला जातहरूको विवाह, ब्रतबन्ध, छैटी पैठीलगायतका शुभ कार्य तथा मर्दाका मलामी जाँदा दलित समुदायका नागरिकहरू अनिवार्य जाने भएपनि छुवाछुत हुने गरेको नेपाल राष्ट्रिय दलित कल्याण सङ्घ कालिकोटका संयोजक वीर तिरुवा बताउँछन् ।

जिल्ला भरी जातीय विभेदको गुनासो आएपनि जिल्ला प्रहरी कार्यालयमा जातीय छुवाछुतका उजुरी कम आएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख इन्स्पेक्टर देवेन्द्र मल्लले बताए । उनका अनुसार जिल्लाका अधिकांश समुदायमा जातीय छुवाछुत भने कायमै रहेको छ ।

अन्य

भिडियो