राजविराज कारागारमा बन्दी रहेका ३९ वर्षीय भारतीय नागरिक सतिश अग्रवालको मृत्यु पुस ६ गते साँझ ५ः३० बजे भएको छ ।
नागरिकता किर्ते प्रकरणमा वैशाख २५ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका अग्रवाल उपचारमा ल्याउँदा बाटोमै मृत्यु भएको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. चुमनलाल दासले बताए ।
उच्च रक्तचाप, चिनी र मुटु रोगका बिरामी अग्रवाललाई साँझ अकस्मात पेट दुखेपछि तत्कालै राजविराजस्थित अस्पताल पठाइएकोमा मृत्यु भएको निमित्त जेलर सत्यनारायण यादवले जानकारी दिए ।
बिरामी भएकै कारण सात महिनाको अवधिमा उनलाई तीन पटक न्युरो अस्पतालमा समेत उपचार गराउन लगेको जेलर यादवले बताए ।
निमित्त जेलर यादवका अनुसार पुस ६ गते अपरान्ह साढे तीन बजे पानी पुरी खाएका अग्रवालले गन्तीका बेला चार बजे कुराकानी समेत गरेका थिए ।
अग्रवालकी पत्नी मोनिका समेत किर्ते नागरिकतामा फरार रहेकाले उनको शव बुझ्न आएकी छैनन् । राजविराज नपा–१ घर खुलाई वंशजको आधारमा २०५२ असार १५ गते ५९४३२ नम्बरको नेपाली नागरिकता लिएको झुठा अभिलेख विवरण खडा गरी भारतको हरियाणा जिल्ला इशार नगरपालिका उगालन ग्राम पञ्चायतका अग्रवालले कर्मचारीहरूको मिलेमतोमा ०६४ मङ्सिर २५ गते नागरिकताको प्रतिलिपी लिएको भन्दै सप्तरी प्रहरीले कारवाही चलाएको छ ।
नागरिकता प्रतिलिपीका लागि अनुसूची फारममा सही गरेको आरोपमा राजविराज नगरपालिकाका तत्कालीन वडा सचिव राजकुमार देव, अनुसूचीको पछाडि हुँदै नभएको अभिलेखको व्योहोरा भनी लेखेको आरोपमा तत्कालिन फाँटवाला भगवान दाहाल र अभिलेख रुजु नगरी प्रतिलिपी जारी गरेको आरोपमा प्रशासकीय अधिकृत जनक कोइरालामाथि कारवाही चलिरहेको छ ।