INSEC Online

📅 २०८३ जेष्ठ २१

आमालाई कुटपिट गर्दै घरमा आगो लगाउँदा सडकको बास !

म्याग्दीको मालिका गाउँपालिका–६ दिच्यामका २३ वर्षीय एकेन्द्र भण्डारीले आफ्नी आमालाई कुटपिट गर्नुका साथै आफ्नै घरमा आगो लगाउँदा सडकको बास भएको छ ।

यसअघि पनि मदिरा सेवन गर्दै आमालाई कुटपिट गर्ने गरेका भण्डारीले पुस ४ गते आफ्नै घरमा आगो लगाएका हुन् ।

४८ वर्षीया आमा टिका भण्डारीसँग पटकपटक पैसा माग्ने र कुटपिट गर्ने गरेका एकेन्द्रले पुस ४ गतेपनि आमासँग पैसाका लागि झैझगडा गर्दा आमाले पैसा दिन इन्कार गरेपछि घरमा आगो लगाएको मालिका गाउँपालिकाकी उपाध्यक्ष खरमाया बिटालुले बताइन् ।

बिटालुका अनुसार पटकपटक आमालाई कुटपिट गर्ने र मदिरा सेवन गरेर होहल्ला गरेर गाउँमा समेत सताउने भण्डारीलाई कानुनी कारवाहीका लागि पुस ४ गते नै प्रहरीको जिम्मा लगाइएको छ ।

आगोबाट दुईतले ढुङ्गामाटोले बनेको घर र घरभित्र रहेका अन्नपात तथा खाद्यान्नलगायत सबै सामग्रीहरू जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

घटनामा करिब १० लाख रुपियाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका इन्स्पेक्टर रामप्रसाद पाण्डेले बताए ।

अहिले पीडित परिवार छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । घटनाका आरोपित भण्डारीलाई हाल हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो