‘रूपले रूवाउँछ, सीपले खुवाउँछ’ यो उखान नौमूले बजारमा सिलाई कटाई पेसा गर्दै आएकी ३१ वर्षीया पबी गुरूङ्गको जीवनमा चरितार्थ भएको छ ।
‘१६ वर्षकी छँदा ०६० सालमा गाउँकै सन्तबहादुर लामिछानेसँग विवाह भयो । ०६७ मा उनले छोडे । तर सिलाईकटाईको सीपले साथ दिएको छ ।’–गुरूङले भनिन्–‘सन्तबहादुर गाउँकै इष्टमित्रका छोरा थिए । आफ्नो पनि मन लाग्यो अनि दुवै पक्षका घरपरिवारको सहमतिमा पबी र सन्तबहादुरको विवाह भएको थियो । विवाह भएको पछिल्लो वर्ष ०६१ सालमा पबीका बुवा पदम गुरूङ्गले खर्च व्यहोर्दिएर सन्तबहादुर नेपाली सेनामा भर्ती भए । त्यही वर्ष छोरा सुमनको जन्म भयो ।’
भर्ती भएको अर्को वर्ष उनले बुटवलकी एक महिलालाई अर्की पत्नी भित्र्याए । पतिले गल्ती गरिहाले पनि पबीले उनको जागिर जाने र थुनिने अवस्था नहोस् भनेर बहुविवाहको उजुरी गरिनन् । दोश्रो विवाहपछि पनि छोरा र आफूलाई रेखदेख गरी हाल्नु होला भन्ने उनको आशा चाँहि आशामा सीमित भयो ।
रेखदेख गर्नुको सट्टा पटकपटक कुटपिट गर्ने, शारीरिक र मानसिक यातना दिने क्रमसँग सम्बन्ध विच्छेदको प्रस्ताव गरे ।
‘पति छन् भन्नु मात्र किन पार्ने ? न भौतिक उपस्थिति न त कुनै मानवीय सहयोग ? यस्तो सम्बन्ध बिच्छेद गरेकै ठिक भन्ने लाग्यो ।’–उनले भनिन् ।
जसरी सहमतिमा विवाह भएको थियो बहुविवाहको मुद्दाको झमेलबाट जोगाइदिएकी पबीले सन्तबहादुरको चाहना अनुसार नै सहमति जनाएर ०६७ मा अदालतबाट सम्बन्ध विच्छेद गरिन् । जब सम्बन्ध विच्छेद गरिन्, त्यसपछि उनमा आत्मनिर्भर बन्नु पर्छ भन्ने अठोट जाग्यो ।
सम्बन्ध विच्छेद गरेकै वर्ष ०६७ सालमा स्थानीय शान्ति समितिले दैलेख सदरमुकाममा सञ्चालन गरेको तीन महिने सिलाई कटाइसम्बन्धी आधारभूत तालिम लिइन् ।
तालिमबाट फर्किएपछि केही समय गाउँमै अभ्यासपछि अहिले नौमूले बजारमा गर्दै आएको सिलाई कटाई पेसामा पबी राम्रो सिलाउने व्यवसायीको रूपमा परिचय बनाएकी छिन् ।
०६१ सालमा माओवादी युद्धविरूद्ध दैलेखको पश्चिम क्षेत्र दुल्लूमा भएको माओवादी प्रतिकार अभियान सफल भएको सिको गर्न नौमूले क्षेत्रमा पनि माओवादी प्रतिकार समिति बनाउने उद्धेश्यले ०६१ मङ्सिर ४ गते साँझ सल्लेरीको नाउलीमा भएको स्थानीयहरूको जमघटमा माओवादीको सशस्त्र समूहले गरेको गोली प्रहारमा मारिएका चार जना मध्ये ८ वर्षीय बालक अशोक गुरूङ्ग पनि परेका थिए ।
अशोक पबीका भाइ थिए, माओवादीले सामूहिक भेलामा गरेको आकस्मिक गोली प्रहारको घटना लगतै नौमूले र सल्लेरीका झण्डै ४ सय परिवार त्यही राति भागेर सदरमुकाममा पुगे, त्यहाँ विस्थापित बनेर बसे । विस्थापित जीवनपछि त्यसबेला अधिकारकर्मीहरूको पहलमा विस्थापितहरू घर फर्काउँदा उनीहरू पनि नाउली फर्किए ।
पुनस्र्थापनापछि अरू परिवार जस्तो पबी र उनका आमाबुवालाई सजिलो थिएन, विषय राम्रै थाह नपाएरै माओवादी प्रतिकार तयारी बैठकमा पुगेका अभिभावकसँगै गएको अञ्जान बालक अशोकको ज्यान गुमाएको पीडा त्यो परिवारका लागि सहनु ठूलो धीरता थियो ।
जसरी पबी र उनका आमाबुवालाई द्वन्द्व पीडा थियो । पबीलाई पतिले सौता ल्याएको पीडा अर्को ठूलो बज्रपात बन्यो ।
०६७ सालमा उनले द्वन्द्वपीडित परिवारलाई सिलाई कटाइसम्बन्धी तालिम दिइने सहयोग अन्तर्गत उनले अवसर पाएकी हुन् ।
पबी गुरूङ्ग द्वन्द्व पीडित र घरेलु हिंसा समेत दुई ओटा पीडा भएको कारण उनमा ‘केही गर्नुपर्छ’ भन्ने दृढता थियो । तालिमको बेला पनि मेहनत गरिन् र अहिले सफल व्यवसायी बनेकी छिन् ।
घरेलु तथा साना उद्योग विकास शाखा कार्यालय दैलेखका अनुसार सरकारी र गैरसरकारी क्षेत्रबाट सिलाई कटाई तालिम मात्र वर्षेनी १ सय भन्दा बढी जनाले लिन्छन् ।
जसलाई साँच्चिकै आवश्यकता हुन्छ तिनीहरूले तालिमपछि व्यवसाय गरेको वरिष्ठ उद्योग अधिकृत पर्शुराम आचार्यले बताए ।
एउटा आत्मनिर्भर व्यवसायका लागि सीप सिक्न सिलाई कटाई तालिम अवधिमा गरेको मेहनतले पबीले उत्कृष्ट प्रशिक्षार्थी थिइन् अहिले सक्षम व्यवसायी ।
यो लगनशीलताले सीपमा आएको निखारता, अहिले स्थानीय तहमा बढ्दै गरेको जनघनत्व चाँहि उनको कमाईको राम्रो श्रोत बनेको छ ।
सिलाई कटाई व्यवसायले पबीले अहिले १४ वर्ष पुगेको छोरालाई सुर्खेतमा पढाउन राखेकी छिन् । आफूलाई लाउनखान पुगेको छ । घरमा बुबाआमालाई सघाउन धेरथोर पाएकोमा पबीलाई बढो गौरब लागेको छ ।
उनी भन्छिन्–‘मैले सिलाई कटाई पेसा बाहेक अरू केही पेसा व्यवसाय गरेको भए यति सन्तुष्टी पाउन सक्ने थिइनँ होला ।’
छोरीले आफैँले रोजीरोटी सुरू गरेकोमा आफूलाई सन्तुष्टी लागेको पबीका बुवा पदमबहादुर गुरूङ्गले भने ।