एकमहिनादेखि बेपत्ता भएका घोराही उपमनपा–१३ का १७ वर्षीय बालक सुवास पुन पुस २ गते मृत फेला परेका छन् ।
प्युठानको स्वर्गद्वारी दर्शनका लागि नौ जना साथीहरूसहित कात्तिक ३० गते घरबाट हिँडेका बालक स्वर्गद्वारी पुगेर फर्कँदै गर्दा मङ्सिर २ गते बाटोबाटै बेपत्ता भएका थिए ।
घोराही उपमनपा–१९ को हरिकीसे भन्ने जङ्गलमा मृत भेटिएका बालकको शव सडेको अवस्थामा दाउरा काट्न गएका सैघाका महिलाहरूले फेला पारेका थिए ।
तत्काल प्रहरीलाई खबर गरेपछि मृतक बालकका भिनाजु विनोद गुरुङले चप्पल र कपडाको आधारमा बालकको शव पहिचान गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीले शवको पोष्टमार्टका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको छ भने घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी बेलबहादुर पाण्डेले बताए ।
मृतक बालकको परिवारले बालकको हत्या भएको हुनसक्ने भन्दै गम्भीर अनुसन्धान गरिनुपर्ने माग गरेको छ । बालक घोराहीको अल्फा अङग्रेजी माविमा कक्षा १० मा अध्ययनरत थिए ।