इन्सेक सप्तरीको पहलमा राजविराज नपा–३ की २९ वर्षीया मिकीकुमारी गुप्ता र उनका पति ३९ वर्षीय अमितकुमार रश्मीको पुस १ गते विवाह दर्ता गरिएको छ ।
सामाजिक परम्पराअनुसार ०६८ मङसिर १३ गते विवाह भएका कञ्चनरुप नपा–८ की मिकी र राजविराज नपा–३ का अमितका ६ वर्षीय छोरा छन् ।
मिकीले आफ्नो विवाह दर्ता र छोराको जन्मदर्ता बनाउन पतिसहित घरपरिवारका सदस्यलाई गरेको आग्रह अस्वीकार गर्दै घरेलु हिंसा गरेकोले आवश्यक कारवाहीको माग गर्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा कात्तिक २९ गते उजुरी दिएकी थिइन् ।
दुवै पक्षबीच जिल्ला प्रहरी कार्यालयमा दुई पटक छलफल भएपनि विवाह दर्ता र बालकको जन्मदर्ता बनाउन पतिसहित घरपरिवारका सदस्यले आलटाल गर्दै आएकोमा इन्सेक सप्तरीका प्रतिनिधि मनोहरकुमार पोखरेल र रासस प्रतिनिधि नानीमैया कटवाल पुस १ गते निजहरूको घरमै गई बालबालिका र महिलाको नैसर्गिक अधिकार तथा कानुनी प्रावधानबारे जानकारी दिँदै मनोविमर्श गरेपछि पुस १ गते नै राजविराज नगरपालिका–३ को कार्यालयमा आएर विवाह दर्ता बनाएको वडा अध्यक्ष सुदर्शनप्रसाद सिंहले बताए ।
इन्सेक प्रतिनिधिसहित वडा कार्यालय आएका अमितले केही दिनमै छोराको जन्मदर्ता समेत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।