जेनजी आन्दोलनका क्रममा दाङमा १ सय ३६ सरकारीसहित १ सय ८९ सवारी साधनमा तोडफोड तथा आगजनी गरिएको छ ।
आन्दोलनकारीहरुले सरकारी कार्यालय र त्यहाँ कार्यरत कर्मचारी तथा सेवाग्राहीका सवारी तोडफोड र आगजनी गरेको पाइएको हो । सबैभन्दा धेरै १ सय ३६ वटा सरकारी सवारी र ५३ वटा निजी सवारीमा तोडफोड र आगजनी गरिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
सम्बन्धित कार्यालयले उपलव्ध गराएको तथ्याङकअनुसार दाङमा हलुका चारपाङग्रे सरकारी गाडी ३३, सरकारी मोटरसाइकल ८४, सरकारी साइकल १०, टिप्पर तीन, टेक्टर एक, स्काभेटर एक, टेलर एक, लोडर एक, ट्याङकर एक र दमकल एक गरी १ सय ३६ र निजी चार पाङग्रे गाडी दुई, निजी मोटरसाइकल ४७, स्कुटर तीन, अटो एक वटा सवारीमा तोडफोड तथा आगजनी गरिएको पाइएको छ ।
आगजनी र तोडफोड गरिएमध्ये ४० वटा चारपाङग्रे गाडीमा पूर्ण क्षति भएको छ भने चार वटामा आंशिक क्षति भएको छ । त्यस्तै तीन पाङग्रे एक वटामा पूर्ण क्षति, १ सय ३४ वटा दुई पाङग्रे सवारीमा पूर्णरुपमा क्षति पुगेको सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले जानकारी दिनुभयो । यसैगरी १० वटा साइकल पनि पूर्णरुपमा क्षति पुगेको छ । सहायक प्रजिअ बुढाका अनुसार दाङमा १ सय ८९ सवारीमा क्षति पुर्याइएको छ । सरकारी सवारीमा आगजनी तथा तोडफोड भएपछि अत्यावश्यकीय सेवा समेत ठप्प भएको छ । तुलसीपुर उपमहानगरपालिकाको दमकल, पानी बोक्ने ट्याङकर पूर्णरुपमा जलेर नष्ट भएको छ भने जिल्ला यान्त्रिक कार्यालयका टिप्पर, स्काभेटर, लोडर, टेलरमा क्षति पुगेपछि वर्षाको समयमा सडक मर्मत गर्न समेत समस्या भएको छ ।

