दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेकी २८ वर्षीया रेश्मिका सिवा परियारको ०८२ भदौ ३० गते शंकास्पद अवस्थामा शव फेला परेको छ।
शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका-५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत रेश्मिका भदौ ३० गते राति बतासेको ह्याकुले र रमितेडाँडाको बीचमा पर्ने मार्से सामुदायिक वनमा मृत फेला परेको प्रहरीले जनाएको छ।
सहकारी संस्थाका अध्यक्ष सागर तामाङले रेश्मिका भदौ ३० गते अपरान्ह चार बज्न लाग्दा कार्यालयबाट निस्किएको बताउनु भयो।
अपरान्ह कार्यालयबाट हिड्नुभएकी रेश्मिका राति अबेरसम्म घर नपुगेपछि खोजी गर्नेक्रममा सडकभन्दा करिब १ सय ५० मिटर तल पर्ने मार्से सामुदायिक वनको झाडीमा मृत अवस्थामा भेटिनु भएको हो ।
घटनास्थलमा प्रहरी चौकी याङ्सोलाटार, छितापोखरी, भँडारेघाट र याम्खाको टोली पुगेको छ। घटनास्थलको प्रकृति हेर्दा रेश्मिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ।
घटनास्थल सबैभन्दा तल घाँटीमा कालो सलले बेरेको अवस्थामा रेश्मिकाको शव भेटिएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले बताउनु भयो।
पीडितले लगाएको भित्री कपडा पाखामा भेटिए पनि शव भने लुगा लगाएको अवस्था फेला परेपछि प्रहरीले बलात्कारपछि हत्याको आशंका गरेको छ।