भदौ २४ गते कर्णाली प्रदेशमा जेनजीको आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोडबाट क्षति भएका संरचनाको इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयसँगको समन्वयमा ०८२ भदौ ३१ गते अनुगमन गरेको छ ।
संयुक्त टोलीले आन्दोलनका क्रममा सुर्खेतमा क्षति भएका सरकारी कार्यालय, राजनीतिक दलका पार्टी कार्यालय, प्रदेश अस्पतालमा उपचार गर्न गएका बिरामी तथा स्वास्थ्यकर्मीसँग भेटघाट गरेर अनुगमन गरेका हो ।
अधिकारकर्मीको टोलीले नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा पार्टीका नगर अध्यक्ष, जिल्ला अध्यक्ष, प्रदेश अध्यक्ष लगायतसँग ०८२ भदौ ३१ गते भेटघाट गरेको छ । त्यसैगरी कर्णाली प्रदेश सभा, मुख्यमन्त्री यामलाल कडेलको सरकारी निवास, कृषि मन्त्री विनोद शाहको सरकारी निवास, उच्च सरकारी वकिलको कार्यालय, मुख्य न्यायाधिवक्ताको कार्यालय, प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय, नापी कार्यालय, वीरेन्द्रनगर नपाको ६ नम्बर वडा कार्यालय, सुर्खेत उपत्यका खानेपानी उपभोक्ता कार्यालय र संघीय कोष तथा लेखा नियन्त्रक कार्यालयको अनुगमन गर्दै कार्यालयका प्रमुख तथा प्रतिनिधिसँग भेट गरी छलफल समेत गरिएको थियो ।

प्रदेश सभाको संसद भवन, सभामुख उपसभामुखको कार्यकक्ष, विषयगत समितिका कार्यालय, लाइवेरी, हल, प्रदेश सभा भित्र राखिएको एम्बुलेन्स, एनआइसी एसिया बैंकको एटिएम मसिन, लगायत पूर्ण रुपमा जलेको, प्रदेश सभाको क्यान्टिन तोडफोड, नापी कार्यालयको सर्बर तथा महत्वपूर्ण सम्पूर्ण कागजपत्र कार्यालय भवन जलेर नष्ट भएको, उक्त कार्यालयमा राखिएका एक जीप र दुई ओटा मोटरसाइकल जलेर नष्ट भएको, कोष तथा लेखा नियन्त्रक कार्यालय भवन, महत्वपूर्ण कागजपत्र सबै जलेर नष्ट भएको, यस कार्यालयको मोटरसाइकल नौ र कार दुई ओटा जलेको अनुगमनका क्रममा पाइएको तथ्यहरु उल्लेख गरिएका छन् ।

त्यस्तै उच्च सरकारी कार्यालय भित्र पार्किङ गरि राखिएका मुख्य न्यायाधिवक्ताका दुई ओटा सवारी साधन जलाइएको, आन्दोलनका क्रममा घाइते भएका ३२ जनाको प्रदेश अस्पतालमा उपचार भएको, घाइते ३२ जना मध्ये दुई जना सशस्त्र प्रहरी भएको अन्य प्रदर्शनकारी भएको, घाइते मध्य १८ जनालाई गोली लागेको र अन्य सामान्य घाइते भएको अनुगमनका क्रममा पाइएको छ । प्रहरीले चलाएको गोलीबाट आखाको माथिल्लो भागमा गोली लागेर उपचारका लागि प्रदेश अस्पतामा गएका सुर्खेत वीरेन्द्रनगर नगरपालिका–२ का २८ वर्षीय सन्तोष बोहोरा थप उपचारका लागि भदौ २९ गते आइतबार रिफर भएको कर्णाली प्रदेश इमरजेन्सी विभागका इन्चार्ज पृथ्वी शाहीले बताउनु भयो । बोहोराको आखामा गहिरो चोट लागेका कारण लखनउ वा नेपालगञ्जमा उपचार भएको हुन सक्ने अस्पताल स्रोतले जनाएको छ ।

अनुगमनका क्रममा प्रदेश अस्पतामा उपचारमा आएका घाइतेको औषधि उपचार हालसम्म अस्पतालले व्यहोरेको, प्रदेश अस्पतालबाट सबै बिरामी डिस्चार्ज भएको, राजनीतिक दलका पार्टी कार्यालयमा रहेका सम्पूर्ण फर्निचर लगायत पुस्तक, झयाल ढोका, इलेक्टोनिक सामान जलेर नष्ट भएको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो । मालपोत कार्यालयका प्रमुख दिनेश भण्डारीले सबै सामग्री जलेका कारण नापी कार्यालयबाट दशै अघि सेवा दिन नसकिने बताउनु भयो । कर्णाली प्रदेश सभाबाट तत्काल काम गर्न नसकिने सचिवालयका राजेन्द्र पौडेलले बताउनु भयो ।

अनुगमन टोलीमा इन्सेकका नारायण सुवेदी, जगतदल जनाला विक , राष्ट्रिय मानव अधिकार आयोगका राजेन्द्र न्यौपाने, कविता नेपाली, मानव अधिकार रक्षक सञ्जालका पीताम्बर ढकाल र एड्भोकेसी फोरमका राजेन्द्र भारती रहेका थिए ।

कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते प्रदर्शनकारीहरूले सरकारी, निजी, पार्टी कार्यालय र संस्थाका गरी ६० ओटा संरचना तथा सरकारी र निजी गरेर ४५ ओटा सवारी साधनमा तोडफोड तथा आगजनी गरेको तथ्याङ्क इन्सेकले सार्वजनिक गरिसकेको छ । बाकी रहेका कार्यालय तथा नीजि भवनको अनुगमन र बिरामीसँगको भेटघाट गरिने कार्यलाई निरन्तरता दिने जनाइएको छ ।






