इन्सेक सप्तरीका प्रतिनिधि मनोहरकुमार पोखरेल १०८औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आयोजित निबन्ध प्रतियोगितामा सर्वोत्कृष्ट हुँदै पुरस्कृत भएका छन् ।

सबल नेपालद्वारा आयोजित ‘आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरणः ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण’ शीर्षकमा भएको खुला अनलाइन निबन्ध प्रतियोगितामा सर्वोत्कृष्ट निबन्ध लेखेबापत प्रथम पुरस्कारबाट पुरस्कृत भएका हुन् ।
सबल नेपालले मङ्सिर २९ गते आफ्नो १३ औँ वार्षिक साधारण सभामा पुरस्कृत पोखरेललाई नगद ५ हजार १ रुपियाँसहित प्रशंसापत्र र उपहार प्रदान गरेको छ ।
निबन्धमा पोखरेलले जन्मिने, जीउने र मर्ने प्रक्रिया एउटै हो भने लिङ्गकै आधारमा भेदभाव गर्नु युग सुहाउँदो कुरा नभएकोले युगको माग अनुसार शिक्षा, स्वास्थ्य वा जागरणमा मात्र नभई आर्थिकसहित हरेक विषयमा महिलाको बराबरी अधिकार स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।
पछाडि पारिएका महिलाहरूको आर्थिक सशक्तिकरण हुन सकेमा घरपरिवार, समाज र मुलुकमा योजना, निर्णय प्रक्रिया, कार्यान्वयन र मूल्याङ्कन प्रक्रियामा प्रत्यक्ष सहभागी बन्न सक्ने र महिलाको जीवनस्तर रूपान्तरण भई मर्यादित बन्ने निबन्धमा उल्लेख छ ।
आर्थिक सशक्तिकरणसहितको सामाजिक जागरणले महिलाको सामाजिक, सांस्कृतिक शक्तिलाई गतिशील बनाउने, स्वरोजगार भए स्वःनिर्णयको क्षमता बढ्ने, आत्मविश्वासले स्वःनिर्णय बढाउने र मात्र महिला सशक्तताको ढोका खुल्ने तर्क राख्दै निबन्धमा आर्थिक रूपमा सुदृढ समाज निर्माणमा महिला र पुरुष दुवैलाई बराबर हिस्सेदारको रूपमा चित्रित गरिए हिजोभन्दा आज र आजभन्दा भोलि समाज परिष्कृत र विकसित हुँदै जाने विश्वास गरिएको छ ।