पोखरा मनपा–२६ स्थित सराङ्कोटमा रहेको बाल सुधारगृहमा क्षमता भन्दा बढी बालकहरू हुँदा व्यवस्थापकीय असुविधा भएको पाइएको छ ।
सुधारगृहको क्षमता ५० जनाको भएपनि हाल २२ जिल्लाका ६२ जना बालकहरू रहेको बालसुधार गृह कास्कीकी इञ्चार्ज रमा शर्माले जानकारी दिइन् ।
‘कोठा र पलङ् सङ्ख्या कम भएपछि उनीहरूलाई खानेपानी, खेल्ने स्थान तथा शैक्षिक सामग्रीको अभाव रहने गरेको छ । ६ कक्षादेखि १० कक्षासम्म पढ्ने ६२ जना बालकलाई पढाउने तीनजना मात्र शिक्षक हुँदा पनि समस्या छ ।’–शर्माले भनिन् ।
वर्षात्को समयमा चुहिने छानो भएको सुधारगृहमा हप्ताको एकपटक मात्र बोरिङको पानी पाइपमार्फत् आउने गरेका कारण नुहाउन र सरसफाइमा समेत समस्या हुने गरेको शर्माको भनाई छ ।
सुधारगृहमा कर्तव्य ज्यान, बलात्कार, चोरी, लागु औषध, सवारी ज्यानलगायतका घटनामा परी पुर्पक्ष र फैसला भएका बालकहरू रहेको इञ्चार्ज शर्माले जानकारी दिइन् ।