विरूवा गाउँपालिकामा रहेको प्रहरी चौकीमा आक्रमण गरी प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले विरूवा गाउँपालिका–२ का ३३ वर्षीय निरबहादुर राना, सोही ठाँउका २९ वर्षीय मोहन राना, २७ वर्षीय कमल राना र २६ वर्षीय अशोक रानालाई मङ्सिर २७ गते गिरफ्तार गरेको छ ।
आरोपितहरूले मङ्सिर २६ गते राति प्रहरी चौकीमा घेराहाली ‘ड्यूटी’मा रहेका प्रहरी जवान मिलन सारूलाई हातपात गर्नुका साथै हतियार समेत खोस्ने प्रयास गरेका कारण गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी प्रकाश विष्टले जानकारी दिए ।
डिएसपी विष्टका अनुसार आरोपितहरूले मदिरा सेवन गरी होहल्ला गर्ने क्रममा विरूवा प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले होहल्ला नगर्न भनी सम्झाउन खोज्दा प्रहरीमाथी नै हातपात गरेका थिए ।
घटनापछि स्थानीय निरबहादुर राना र सोही ठाउँका ३३ वर्षीय खेमबहादुर रानालाई गिरफ्तार गरी विरूवा प्रहरी चौकीमा ल्याएपछि २८-२९ जना गाउँलेहरूले राति करिब १२ बजेतिर चौकीमा घेराहाली ढुङ्गा प्रहार गर्दा प्रहरी जवान मिलन सारू घाइते भएको प्रहरीले जनाएको छ ।
गाउँलेले चौकीमा आक्रमण गरेका कारण गिरफ्तार भएका दुवै जनालाई प्रहरीबाट खोसेर लगेको खबर पाएपछि वडा प्रहरी कार्यालय वालिङ र जिल्ला प्रहरी कार्यालय, स्याङ्जाबाट गएको प्रहरीको टोलीले स्थानीय चार जनालाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले जनाएको छ ।