बाँफिकोट गाउँपालिकाका अध्यक्ष ५० वर्षीय धर्मबहादुर केसीले सुरक्षाको मागगर्दै इलाका प्रहरी कार्यालय बाफीकोटमा मङ्सिर २६ गते उजुरी दिएका छन् ।
बाँफिकोट गाउँपालिका-४ मा रहेको आफ्नै घरमा सुतिरहेको अवस्थामा सोही ठाउँका १८ वर्षीय चम्मन बिक, सोही ठाउँका १९ वर्षीय रेमन बिक र १७ वर्षीय बालकलगायतका समूहले मङ्सिर २५ गते राति आफूलाई कुटपिट गरेको भन्दै अध्यक्ष केसीले इलाका प्रहरी कार्यालय बाफीकोटमा उजुरी दिएका हुन् ।
घटनामा संलग्न तीनै जनालाई प्रहरीले मङ्सिर २६ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी सुमित खड्काले बताए । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
विवाहबाट फर्किरहेका युवाले ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ । मदिरा सेवन गरेका युवाहरूले राति ८ बजे विना कारण आफ्नो घरबाहिर राखिएका भाँडाकुँडा तोडफोड गर्न थालेपछि बाहिर आएर त्यसो नगर भन्दा आफूमाथि कुटपिट गरेको अध्यक्ष केसीले बताए ।
घाइते अध्यक्षको टाउकोमा चार ओटा टाँका लगाइएको र गालामा पनि चोट लागेको अध्यक्ष केसीले बताए । केसीको उपचार बाँफिकोट स्वास्थ्य चौकीमा गरिएको थियो ।