INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण घटनाका आरोपित गिरफ्तार

भारतको बिहार राज्य सुपौल जिल्ला किसनपुर थाना बस्ने महमद सद्दामका सात वर्षीया छोरा मैजुफ अलामलाई अपहरण गरी नेपाल ल्याई बन्धक बनाएको आरोपमा प्रहरीले तीन जनालाई मङ्सिर २५ गते गिरफ्तार गरेको छ ।

पीडित बालकलाई मङ्सिर २० गते भारतबाट अपहरण गरी नेपाल ल्याएर बन्धक बनाएको आरोपमा प्रहरीले गौरीगञ्ज गाँउपालिका–६ का ४७ वर्षीय बद्री यादव, सोही गाउँपालिका–४ का ३१ वर्षीय श्रीप्रसाद मलाह र उनकी २७ वर्षीया पत्नी अन्जु मुखियालाई गिरफ्तार गरेको हो ।

आरोपिततहरूले घर नजिकै खेलिरहेका बालकलाई मङ्सिर २० गते भारतीय नागरिकको सहयोगमा अपहरण गरी विट्टु मलाहको घरमा दुई दिन र मङ्सिर २२ गतेदेखि दमकस्थित देउराली होटलको कोठा नं. १०७ मा बन्धक बनाएर राखेको अवस्थामा बालकको उद्धार मङ्सिर २५ गते गरी अभिभावकको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।

आरोपितहरूले पीडितका बावुबाट १५ लाख भारतीय रुपियाँ फिरौती माग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी श्रेष्ठले बताए ।

नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरी बालकलाई अभिभावकको जिम्मा लगाएको छ । आरोपितहरूलाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान थालिएको डिएसपी श्रेष्ठको भनाई छ ।

अन्य

भिडियो