INSEC Online

📅 २०८३ जेष्ठ २१

तत्काल परिचपय पत्र वितरण गरी उद्वार गर्न मुक्त कमलरीद्वारा माग

मुक्त कम्लरी विकास मञ्च नेपालले परिचय पत्रको अभावमा मुक्त कम्लरीहरूले व्यवसायिक तालिम र रोजगारी तथा छात्रवृत्तिबाट वञ्चित हुने अवस्था आएको भन्दै पूर्व कम्लरी परिचयपत्र उपलव्ध गराउन माग गरेको छ ।

मञ्चकी केन्द्रीय अध्यक्ष सुनीता चौधरीसहित पूर्व कम्लरीहरूले प्रमुख जिल्ला अधिकारीलाई पाँच बुदे ज्ञापन पत्र बुझाउँदै तत्काल परिचयपत्र दिन माग गरेका छन् ।

दाङमा ५ हजार ५ सय ५५ पूर्व कम्लरी रहेको भन्दै ती मध्ये ७ सय ६५ ले मात्रै सरकारी परिचय पत्र पाएको मुक्त कम्लरी विकास मञ्चले जनाएको छ ।

जिल्लाका स्थानीय तहले मुक्त कम्लरीको शिक्षा र स्वरोजगारका लागि बजेट विनियोजन गरेको तर उक्त बजेटबाट सञ्चालन गरिने स्वरोजगार तालिम र छात्रवृत्ति लिँदा सरकारी परिचयपत्र माग्ने गरेका कारण सेवा र अवसरबाट वञ्चित हुनुपरेको अध्यक्ष चौधरीले बताइन ।

यसैगरी जिल्लामा अझै पनि २७ जना कम्लरी बस्न वाध्य भएको र ती मध्ये दुईजना बेपत्ता रहेको मञ्चले जनाएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले पूर्व कम्लरीहरूको परिचय पत्रका लागि केन्द्रीय सरकारसँग पहल गर्ने र कम्लरी बालिकाको उद्वारका लागि तत्काल काम थाल्ने बताए ।

उनले सबैको सहकार्यबाट कम्लरीको उद्वार गर्न सकिने भन्दै छापा हान्नका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।

अन्य

भिडियो