गोरखा जिल्ला फुजेल गाविसका कृष्णप्रसाद अधिकारीको हत्या घटना सम्बन्धमा चितवन जिल्ला अदालतमा असोज १० गते दोश्रो दिन पनि बहस भएको छ । जिल्ला अदालतमा असोज ९ गतेबाट सुरु भएको बहस आज दोश्रो दिन पनि जारी रहेको अदालतले जनाएको छ ।
असोज १० गते प्रतिवादी तर्फा आठ जना अधिवक्ताले बहस गरेका थिए । पाँच जना अधिवक्ता बहसका लागि बाँकी नै रहेकाले असोज ११ गते मात्र यस घटनाको टुङ्गो लाग्ने बताइएको छ ।
असोज ९ गते दुइ जना सरकारी वकिलसहित जाहेरवालाको तर्फबाट थप सात जनाले बहस गरेका थिए ।
२०६१ जेठ २४ गते नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए । त्यसको एक वर्ष ६ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसाद अधिकारीले १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।
तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले २०६१ जेठ २४ गते कृष्णप्रसादको अपहरण गरी हत्या गरेका थिए ।
छोरा कृष्णप्रसादको हत्यारालाई कारबाहीको माग गर्दै झण्डै ६ वर्षादेखि अनसनरत आमा गङ्गामायाले गत भदौ २७ गते मात्र अनसन तोडेकी थिइन् । चितवन जिल्ला अदालतका श्रेष्तेदार सहितको टोलीले असोज २ गते वीर अस्पतालमै पुगेर गङ्गामायासँग बयान लिएको थियो ।