सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई मङ्सिर २५ गते जिल्ला अदालत अछामले ६ महिना कैद फैसला सुनाएको छ ।
न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले उक्त फैसला सुनाएको हो । बालक भएका कारण आरोपितलाई जेलमा नराखेर डोटीस्थित सुधार गृहमा राखिने अछाम प्रहरीका असई हर्षबहादुर चन्दले जानकारी दिए ।
पीडित बालिकालाई असोज ३ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले प्रहरीमा कात्तिक २ गते उजुरी दिएका थिए ।
बलात्कारपछि कसैलाई भनेमा मारिदिन्छु भन्ने धम्की बालिकालाई दिएकोले एक महिनापछि घटना बाहिर आएको बताइएको छ ।
१४ वर्षीया अर्की बालिकालाई कात्तिक २ गते सोही अरोपितले बलात्कार प्रयास गरेको भनी घरमा जानकारी गराएपछि सात वर्षीया बालिका बलात्कारको घटना खुलेको थियो । यौन दुर्व्यवहार भएको १४ वर्षीया बालिकाका आफन्तले भने हालसम्म प्रहरीमा उजुरी नदिएको पीडित पक्षले जनाएको छ ।
घटनामा संलग्न आरोपितलाई अछाम प्रहरीले कात्तिक ३ गते बेलुकी गिरफ्तार गरी मुद्दा चलाएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ३ गते जिल्ला अस्पताल अछाममा गरिएको थियो ।