मानव अधिकार सचेतनायुक्त नमूना गाउँ निर्माण गर्नुपर्नेमा इन्सेककी अध्यक्ष डाक्टर ईन्दिरा श्रेष्ठले जोड दिएकी छन् ।
इन्सेक प्रदेश ५ कार्यालय नेपालगञ्जको आयोजनामा मङ्सिर २० गते आयोजित प्रदेश ५ को मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा इन्सेक अध्यक्ष श्रेष्ठले उक्त कुरामा जोड दिएकी हुन् ।
डा. श्रेष्ठले सुरक्षित मर्यादित समाज निर्माण गर्नको लागि इन्सेक सदैव लागि परेको बताइन् । उनले सबै पक्षसँगको समन्वय सहकार्यले मानव अधिकारको नयाँ स्वरूप खोज गरी अगाडि बढ्ने बताइन् ।
इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले मानव अधिकारसँग सम्बन्धित सबै विषयवस्तु कानुनमा समावेश गर्न आवश्यक रहेकाले नागरिक समाज, सङ्घसंस्था तथा स्थानीय तह सक्रिय भएर मानव अधिकारको सवालहरूमा सहकार्य गरेर लाग्नु पर्ने बताए ।
राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका प्रमुख चन्द्रकान्त चापागाईले तीन ओटै तहका जनप्रतिनिधि मानव अधिकारप्रति सचेत हुन आवश्यक रहेको बताए ।
एफडब्लुएलडीका संयोजक सुनिल श्रेष्ठले सार्वजनिक सरोकारका मुद्दाहरूमा इन्सेकसँगको सहकार्यमा रिट दायर गरिएको बताउदै इन्सेकले अगामी दिनहरूमा वतावरण, शिक्षा, स्वास्थ्य, सांस्कृतिक अधिकारहरूमा प्रभाव पार्ने खालको कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने बताए ।
अधिवक्ता प्रल्हाद कार्कीले राज्यलाई जिम्मेवार बनाउनु पर्ने धाराण राख्दै नागरिक समाजले राजनितिक दलहरूलाई समेत जिम्मेवार बनाउन भूमिका निर्वाह गर्नुपर्ने बताए ।
अधिवक्ता बसन्त गौतमले अधिकार, सुशासनका साथै भौतिक विकासको कार्यहरूमा खबरदारी गर्नुपर्ने बताए ।
हिमराइट्सका प्रकाश उपाध्यायले इन्सेकले विगतदेखि नै मानव अधिकारको क्षेत्रमा उदाहरणीय काम गर्दै आइरहेको र अगामी दिनमा फरक तरिकाले आधारभुत आवश्यकताको अधिकारका सम्बन्धमा स्थानीय सरकारलाई जिम्मेवार बनाउने कार्यक्रम ल्याउनु पर्ने बताए ।