सुख्खा मौसम सुरू भएसँगै रामप्रसाद राई गाउँपालिका-५ मानेभञ्ज्याङको रानागाउँ टोलका गाउँलेहरू खानेपानीको समस्याले कुवामा ताल्चा लगाएर कुवाको पानी जोहो गर्न थालेका छन् ।
रानागाउँका १६ घरपरिवारलाई बिहानबेलुका जेनतेन २/२ गाग्री खानेपानी पुग्ने गर्छ । खानेपानीको अभाव खटि्कएका बेला कुवामा पानीको लापारबाहीले मुहान नरित्तियोस् भनेर कुवामा ताल्चा लगाउने गरेको स्थानीय रमिला रानामगरले बताइन् ।
उनले भनिन्-‘गाउँका सबैलाई भनेजति खानेपानी पुग्दैन । एकचोटीमा सबैलाई २ गाग्री जतिमात्रै खानेपानी पुग्छ । त्यसपछि कुवाको पानी सकिन्छ । पानी थोरै पुग्ने भएकाले यसको लापारबाही नहोस् भनेर ताल्चा लगाएका हौँ ।’
पहिले यो कुवामा रानागाउँबासी मात्र नभई आसपासका ओडारे, जुकेपानी, अगौटे, लट्रीडाँडा टोलका गाउँलेलाई पनि खानेपानी लान र चलाउन सास्ती हुन्नथ्यो ।
तर, पछि मुहान सुक्दै गएसँगै कुवाको पानी रातिराति जथाभावी लान थालेपछि कात्तिक पहिलो हप्ताबाट गाउँलेकै निर्णयमा कुवामा ताल्चा लगाउन थालिएको स्थानीय जितबहादुर क्याप्छाकी मगरले बताए ।
‘पहिले कुवाको पानीले सबैलाई मनग्गे पुग्थ्यो । तर, पछि मुहानको सतह घट्न थालेपछि खानेपानी पुग्न छाड्यो । पछि खानेपानी कम भइरहेका बेला वल्लोपल्लो गाउँका मानिसहरू राति आएर पानी लगेर जाने, बिहान खानेपानी लिन जाँदा कुवामा पानी हुन छाडेपछि ताल्चा लगाउन सुरू गर्यौँ ।’-उनले भने-‘बिहान ५ बजे र बेलुकी ६ बजे हामी ताल्चा खोलेर एकदुई गाग्री कति पुग्छ पानी सबैलाई बराबरी बाँड्ने गरेका छौँ ।’
कुवाबाट मानिसलाई खानेपानी जोहो गर्न कठिन भइरहेका बेला बस्तुभाउ, चौपायालाई पानी पुर्याउन अत्यन्तै समस्या भएको कृष्णकुमारी रानामगरले गुनासो गरिन् ।
उनले खानेपानीको चरम सङ्कटकै कारण पाल्तु चौपाया थप जोखिममा परेको बताइन् । खानेपानी अभावकै कारण बस्तुभाउ पाल्ने रानागाउँका धेरैजसो वेशीं सिक्तेलपिखुवा खोलातिर बसाई सरेका छन् ।
मङ्सिरदेखि जेठसम्म रानागाउँमात्रै नभई ५ सय १७ घरधुरी रहेको मानेभञ्ज्याङमा वर्षेनी खानेपानीको हाहाकार नै मच्चिने गरेको छ ।
यस ठाउँका अर्चले, भोर्लेनी, आमबोटे, गडा, अगौटे, रानागाउँ, गुँरासेलगायत खानेपानीको उच्च जोखिमका स्थानहरूमा सुख्खा र खानेपानीको अत्यन्तै समस्याका कारण अर्चले, भोर्लेनी र अगौटेका करिब ५६ घरधुरी बस्तीहरू यसअघि नै गाउँबाट विस्थापित भइसकेका छन् भने कतिपय घरधुरी विस्थापित हुने अवस्थामा छन् ।