सङ्खुवासभाको उत्तरी क्षेत्रलाई “पूर्वको कर्णाली” भनेर चिनिन्छ । पूर्वको कर्णाली भन्ने यस क्षेत्रलाई भोटखोला नामले चिनिन्छ । साविकका गाविसहरू पावाखोला, हटिया, चेपुवा र किमाथाङकालाई मिलाएर भोटखोला गाउँपालिका नै बनाइएको छ ।
जिल्लामा सात ओटा रेडियोहरू छन् । केही पत्रिका जिल्लामा नै प्रकाशन हुन्छन् भने धेरै जसो काठमाडौँ, विराटनगर तथा इटहरीमा प्रकाशन हुने पत्रिकाहरू पनि जिल्ला सदमुकाम खाँदबारीमा आइपुग्छन् ।
तर, टाढा र भौगोलिक वनावटका कारण भोटखोलामा न त कुनै रेडियो बज्छ न त पत्रिका नै पुग्छ । गाउँमा केही ठाउँमा सिडिएमए फोनको टावर त छ । तर घाम नलागे हप्तौँसम्म त्यो पनि बन्द हुन्छ ।
भोटखोलाबाट सदरमुकाम खाँदबारी आइपुग्न चार दिन लाग्छ । सदरमुकाम भन्दा निकै टाढा भएर होला भोटखोला आफ्नै लयमा छ । राष्ट्रिय अन्तर्राष्ट्रिय खबर तथा घटनाहरूप्रति भोटखोला बेखवर छ ।
दैनिक उपभोग्य वस्तुदेखि साना ठुला व्यापारका लागि पनि भोटखोलाको मुख्य बजार चीनको स्वशासित क्षेत्र तिब्बत हो । किनमेल गर्न भोटखोलाबासी तिब्बतको चागाँ, देन्दाङ, रियु र नादाङसम्म पुग्छन् ।
यी चिनियाँ बजार र भोटखोलाबीच ‘रोटीबेटी’ कै सम्बन्ध छ । जिल्ला सदरमुकाममा त उनीहरू कमै मात्रै आइपुग्छन् । विशेष कामले मात्रै उनीहरू जिल्ला सदरमुकाम खाँदबारी आइपुग्छन् । उनीहरू सदरमुकाम आएको बेलाम खाद्यान्न सामग्रीहरू लैजाने गरेका छन् ।
भोटखोलाका स्थानीय मुटुक भोटे भन्छन्-“हामि सदरमुकाम खाँदबारी त कमै पुग्ने गर्छम । हामीलाई सदरमुकाम पुग्न चार दिन लाग्छ ।”
अर्का स्थानीय अर्जुन भोटे भन्छन्-“हामी सदरमुकाम गएका बेला खाद्यान्न ल्याउछौँ । हाम्रो बजार त चिनकै बजार हो । अर्काको देशमा गएर किन्नु पर्दा हामीलाई पनि दुःख लाग्छ ।”






