शुक्लागण्डकी नगरपालिकाको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय पोखराको सहयोगमा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानका क्रममा मङ्सिर १६ गते शुक्लागण्डकी नपा-९ मा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा न्यायधिवक्ता सुरेन्द्र काफ्ले, शुक्लागण्डकी नगरपालिकाकी महिला विकास अधिकृत सिता थापा र इन्सेक गण्डकी प्रदेश कार्यालयकी कार्यक्रम संयोजक सवनम शर्माले कार्यक्रममा सहजीकरण गरेका थिए ।
कार्यक्रममा नेपालका विद्यमान कानुन, १६ दिने अभियानका साथै महिला अधिकारसम्बन्धी नेपाल पक्ष राष्ट्र भई हस्ताक्षर गरेको महिला विरूद्ध हुने सबै प्रकारका भेदभाव तथा दुर्व्यवहारविरूद्धको महासन्धिको बारेमा सहभागीलाई जानकारी दिइएको इन्सेक गण्डकी प्रदेश कार्यालयकी कार्यक्रम संयोजक सवनम शर्माले बताइन् ।

नगरपालिकाकी उपमेयर सविता रसाईलीले लैङ्गिक हिंसासम्बन्धी उजुरीहरू नगरपालिकास्थित न्यायिक समितिमा दिन सकिने बताउँदै विषयको गाम्भिर्यता हेरेर आफूहरूले उजुरीहरूमा निर्णय लिने गरेको बताइन् ।
उपमेयर रसाईलीले लिङ्गका आधारमा कसैले कसैलाई हिंसा गर्न नहुने र अधिकार सँगसँगै कर्तव्य पनि पालना गरेमा मात्रै शान्त र न्यायपूर्ण समाज निर्माण हुनेमा जोड दिइन् ।

कार्यक्रममा सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी, वडा नम्बर ९ का अध्यक्ष लोकनारायण श्रेष्ठ, नगरपालिकामा रहेका आमा समूहका प्रतिनिधि, ज्येष्ठ नागरिक तथा स्थानीयहरूको सहभागिता रहेको थियो ।